दसैँका कारण माओवादीको पालिका सम्मेलन सर्‍यो

काठमाडौं, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिका स्तरीय सम्मेलन सरेको छ । असोज ३० गते गर्ने भनेको सम्मेलन दसैँमा परेका कारण मंसिरको पहिलो सातासम्म पछि सारेको हो । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिका स्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ ।आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने भनिएको राष्ट्रिय सम्मेलनको तिथि भने सारिएको छैन । तर, सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले स्थानीय तहका सम्मेलनहरूको मिति परिवर्तन गरेको स्थायी कमिटीका नेता देव गुरुङले बताए ।यसअघि माओवादीले असोज ३० गते पालिका स्तरीय सम्मेलनहरू गर्ने भनेको थियो ।

तर, असोज २९ गते दसैंको टीका परेकाले माओवादीले कार्यतालिका परिवर्तन गरेको हो । ‘कात्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पालिकाहरुको सम्मेलन गर्ने भन्ने कुरो छ,’ नेता गुरुङले भने, ‘राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको छ ।’यसअघि, गत साउन ३० मा सम्पन्न माओवादीको केन्द्रीय कमिटी बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने कार्यतालिका बनाएको थियो ।

त्यसैगरी असोज १० गते देशैभर एकैदिन सेल र टोल भेला भनिएको थियो । असोज २० गते वडा सम्मेलनहरू गर्ने र असोज ३० गते दसैंका बेला देशभरिका सबै गाउँपालिका र नगरपालिका सम्मेलन भनिएको थियो । यो कार्यतालिका अनुसार अहिले देशभरि टोल र वठा सम्मेलन भइरहेका छन् ।यसअघि माओवादीले कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते। प्रदेश सम्मेलन गर्ने भनेको थियो । जिल्ला र प्रदेश सम्मलेनहरु भने सरेका छैनन् । यद्यपि माओवादीले विधानबाटै जिल्ला समिति खारेज गर्ने निर्णय गरिसकेको छ ।स्थायी कमिटीको बैठकले सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म थपेको छ ।

स्थानीय अधिवेशनको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय भने नसारिएको गुरुङले बताए ।पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने र टोल भेलाहरु कात्तिक ६ गते गर्ने सोमबारको बैठकमा निर्णय भएको गुरुङले जानकारी दिए । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ ।सोमबार बसेको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै माओवादी नेता गुरुङले भने, ‘अहिलेको समसामयिक स्थितिका बारेमा अध्यक्षले ब्रिफिङ लिनुभयो ।

मुख्यरुपमा पार्टीका आन्तरिक सम्मेलनहरुको तयारीका विषयहरुमा छलफल भएको छ ।’ यसैवीच एक फरक प्रसंगमा माओवादी नेता गुरुङका अनुसार स्थायी कमिटीको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिनका लागि कानूनी जटिलतालाई चाँडो हल गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।बैठकमा सरकारको पूर्णताका लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाका विषयमा छलफल भएको उनले बताए । मन्त्रिपरिषद् विस्तार भने कानूनी जटिलताबारे पाँच दलबीच सहमति जुटेपछि हुने गुरुङले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति