अफगानिस्तान राजनीतिक प्रक्रियामा जान तालिबानसँग सहकार्य गर्नुपर्नेः लाभराेभ

१० असोज । रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरुसँगको सहकार्य बिना उनीहरुलाई राजनीतिक प्रक्रियामा ल्याउन सम्भव नभएको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्कमा रहेका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानलाई पनि राजनीति प्रक्रियामा ल्याउनुपर्ने खाँचो औँल्याएका छन् ।


त्यसैले यस प्रक्रियाका लागि अफगानिस्तानमा हाल सत्तामा रहेका तालिबानहरुसँग सहकार्य गर्नुपर्ने र उनीहरुलाई शान्ति र अफगानिस्तानको स्थायित्वका लागि सहयोग पनि गर्नुपर्ने बताए । उनले हाल अफगानिस्तानको अवस्था नाजुक रहेकाले सहयोग गर्न सबै विश्व समुदाय लाग्नुपर्नेमा पनि जोड दिएकाे प्राप्त समाचारमा जनाइएको छ ।


यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री खानले पनि सयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई शनिबार सम्बोधन गर्दै अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघ मार्फत् विश्व समुदाय समक्ष आग्रह गरेका थिए ।


उनले अहिले अफगानिस्तानको अवस्था निकै गम्भीर भइसकेको भन्दै यस देश र यहाँका जनतालाई सहयोग गर्न विश्व समुदाय पछि पर्न नहुने बताएका थिए । (रासस/सिन्ह्वा)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति