कांग्रेस अधिवेशन : ललितपुर महानगरमा कसको पर्ला भारी ?

काठमाडौं, १० असोज । नेपाली कांग्रेसले ललितपुरका एक महानगर, दुई नगर र तीन गाउँपालिकामा सोमबार अधिवेशन गर्दैछ। केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन ललितपुरमा प्रविधिक कारण देखाएर सोमबारका लागि सारिएको हो । ‘नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको पालिकाहरुको यही असोज ९ गते हुने भनिएको अधिवेशन प्राविधिक कारणले असोज ११ गते हुने जानकारी गराउँदछौं,’ जिल्ला सभापति मदनबहादुर अमात्यले असोज ७ गते जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ललितपुर जिल्ला अन्तर्गत ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र माहाङ्काल गाउँपालिकामा सोमबार एकसाथ पालिका अधिवेशन सुरु हुने सभापति अमात्यले जानकारी दिए।

पालिका अधिवेशनका लागि ललितपुर महानगरपालिकामा कांग्रेसका दुई समूह प्यानलसहित चुनावी मैदानमा उत्रिँदै छन्।महानगरमा संस्थापन र संस्थापन इतर समूहले प्यानल बनाएर चुनावी प्रचार–प्रसार गर्दै आएका छन्। यो महानगरमा ५ सय २० क्षेत्रीय प्रतिनिधि रहेका छन्। महानगरका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवानिकटले सुभानन धाख्वाको नेतृत्वमा प्यानल खडा गरेको छ। धाख्वा प्यानलमा नरेन्द्र महर्जन र रामकुमारी लिम्बू उपसभापति, सुनिलकुमार थापा ‘पशुपति’ र राजु ताम्राकार सचिव तथा निरञ्जन केसी र कुमार श्रेष्ठ सहसचिवमा लड्दैछन्। यस्तै संस्थापन इतर समूहले गणेशभक्त श्रेष्ठको नेतृत्वमा प्यानल बनाएको छ। उक्त प्यानलमा राजीव जोशी र निशा महर्जन उपसभापति, कृष्णप्रसाद धिताल र भुषणनाथ शर्मा सचिव तथा राम महर्जन र प्रकाश महर्जन सहसचिवमा उठेका छन्।धाख्वाको प्यानल जिल्ला सभापति अमात्यनिकट हो।

श्रेष्ठको प्यानललाई जितेन्द्र श्रेष्ठ ‘मलेखु’ को सहयोग छ। श्रेष्ठ आसन्न जिल्ला अधिवेशनमा ललितपुरका संस्थापन इतर समूहबाट सभापतिका बलिया दाबेदार हुन्। उनी १३ औँ महाधिवेशनमा संस्थापन पक्षीय अमात्यसँग जिल्ला सभापतिमा पराजित भएका थिए। इतर समूहबाट मथुराप्रसाद घिमिरे पनि जिल्ला सभापतिका दाबेदार हुन्। उनी १२ औँ महाधिवेशनमा अमात्यसँगै जिल्ला सभापतिमा पराजित भएका थिए। संस्थापन पक्षीय अमात्य विधानअनुसार सभापतिमा पुनः प्रतिष्पर्धा गर्न नपाउने भएका छन्। उनको समूहबाट ललितपुर सभापतिका लागि तीनजना दाबेदार देखिएका छन्। संस्थापन समूहबाट मीनकृष्ण महर्जन, रामकृष्ण चित्रकार र गजेन्द्र महर्जन आकांक्षी छन्। मीनकृष्ण २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नम्बर १ (ख) मा उम्मेदवार थिए। जिल्ला सभापतिका आकांक्षी चित्रकार पहिलो संविधानसभा सदस्य हुन्। यस्तै गजेन्द्र गोदावरी नगरपालिकाका मेयर पनि हुन्। उनी क्षेत्र नम्बर ३ का बहालवाला सभापति हुन्। यसअघि पनि उनी क्षेत्रीय सभापति नै थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति