काठमाडौं, १० असोज । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश २ का नेताहरुलाई बोल्न नदिएको भन्दै नेताहरुले गुनासो गरेका छन् । पार्टीका स्थायी कमिटी सदस्य रघुवीर महासेठले हस्तक्षेप गरेर आफूहरुलाई बोल्न नदिएको नेताले गुनासो गरेपछि मधेसको विवाद बाहिर आएको हो । अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले प्रस्तुत गरेका तीनवटा प्रस्तावमाथि केन्द्रीय कमिटीमा शुक्रबार र शनिबार समूहगत छलफल भएको थियो ।
प्रदेश २ का २० जना नेताले बेग्लै समूह बनाएर छलफलमा भाग लिएका थिए । छलफलमा उठेका विषयहरु शनिबार १० वटै टोलीका नेताहरुले बैठकमा प्रस्तुत गरिसकेका छन् । तर, प्रदेश २ का टोली नेतामाथि हस्तक्षेप गरेर रघुवीर महासेठले बोल्न नदिएको गुनासो नेताहरुले गरेका छन् ।
दुई नम्बर प्रदेशका टोली नेता रामचन्द्र मण्डल तोकिएका थिए । उनी पूर्वमाओवादीबाट एमालेमा आएका निवर्तमान प्रदेशसभा सदस्य हुन् । प्रभु साहसँगै एमालेमा प्रवेश गरेपछि मण्डलसहित प्रदेशसभा सदस्यहरु ज्वाला कुमारी साह, कुन्दन कुशवाह र मोहम्मद समिरलाई माओवादीले कारवाही गरेको थियो । माओवादी छाडेर एमालेमा आएका मण्डललाई अहिले केपी शर्मा ओलीले धनुषाको इञ्चार्ज बनाएका छन् । तर, उनलाई धनुषा जिल्लाको इञ्जार्च बनाएको स्थायी कमिटीका सदस्य रघुवीर महासेठलाई मन परेको छैन ।जारी एमाले बैठकमा १० वटा समूह बनाएर छलफल गर्ने क्रममा संयोगवस रामचन्द्र मण्डल २ नम्बर प्रदेशको टोली नेता बने । तर, आफूलाई रघुवीर महासेठले बोल्न नदिएको गुनासो मण्डलले बैठकमा गुनासो गरे ।
महासेठविरुद्ध मधेसमा केन्द्रीय सदस्यहरुको ठूलो जनमत रहेको पूर्वमाओवादी नेताहरु बताउँछन् । मधेसमा एमालेका २० जना केन्द्रीय सदस्य छन् ।’
शनिबारको बैठकमा बद्री न्यौपानेले बोलिसकेपछि अध्यक्ष ओलीले ‘केन्द्रीय सदस्यहरुको व्यक्तिगत राय पनि छ कि ?’ भनेर सोधेका थिए । त्यसपछि रामचन्द्र मण्डलले मलाई बोल्न दिइएन भनेर बैठकमै गुनासो पोखेका थिए । बैठकपछि पूर्वएमालेकै केही नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसमक्ष रघुबीर महासेठबाट अन्याय भएको भन्दै गुनासो सुनाएका थिए । ओली र पोखरेल दुबैले स्थायी कमिटीको सदस्य त्यसरी समूहगत छलफलमा प्रस्तुत हुनु सही नभएको बताएका थिए । प्रदेश नम्बर २ मा प्रभु साहको नेतृत्वमा माओवादीका नेताहरु एमालेमा प्रवेश गरेपछि एमाले थप बलियो बनेको विश्लेषण गरिँदै आएको छ । तर, आफूबाहेक अरुलाई मधेसमा अघि बढ्न नदिने रघुवीर महासेठको प्रवृत्तिका कारण कारण प्रभु साह र उनीसँगै एमालेमा आएका नेताहरु असन्तुष्ट बनेको पूर्वमाओवादीका नेता बताउँछन् । यही असन्तुष्टिका कारण प्रभु साह एमालेको बैठकमा सहभागी भएका छैनन् । साहले विभिन्न ८ बुँदे मागहरु राखेका छन् ।उता, पूर्वमाओवादीलाई ओलीले काखी च्याप्दा रघुवीर महासेठले आफूलाई असुरक्षित महसुस गरेको नेताहरु बताउँछन् । तथापि ओलीले मधेसमा महासेठलाई बलियो साथ दिँदै आएको नजिर छ । नवौं महाधिवेशनमा पराजित उनी अहिले स्थायी कमिटी सदस्य छन् ।ओलीले महासेठलाई उपप्रधानमन्त्री तथा र परराष्ट्रमन्त्रीसमेत बनाएको नजिर पनि छ ।
महासेठ मन्त्री नबनेका बेला पत्नी जुली महतोलाई ओलीले मन्त्री बनाएको दृष्टान्तले ओली र महासेठको निकटता थप प्रष्ट पार्दछ ।विगतमा पनि ओलीले महासेठसँग मिलेर मधेसमा अर्को पक्षलाई दबाउने गरेको एमालेभित्रै गुनासो सुनिन्थ्यो । यतिसम्म कि आफूलाई धनुषामा ओली र महासेठले षडयन्त्र गरेर चुनाव हराएको गुनासो एमालेका पुराना नेता रामचन्द्र झाले गर्दै आएका थिए । झाले अहिले एमाले परित्याग गरिसकेका छन् ।यसैवीच, नेकपा एमालेको जारी बैठकमा शनिबार आफ्नो धारणा राख्ने क्रममा पूर्वमाओवादीका नेताहरुले जेठ २ कार्यान्वयन हुनुपर्ने, १० बुँदे कार्यान्वयन हुनुपर्ने र अध्यक्ष ओलीको प्रस्तावमै ‘पार्टी एकीकरणको निरन्तरता हो’ भनिएकाले माओवादीबाट आएकालाई उचित स्थान दिइनुपर्ने माग गरेका छन् ।पुनर्गठित एमाले नेकपाकै निरन्तरता हो भने माओवादीबाट आएका सबै तहका पदाधिकारीलाई पदाधिकारी नै मान्नुपर्ने पूर्वमाओवादी नेताहरुको माग छ । यसो गर्दा प्रभु साहलाई स्थायी कमिटीको सदस्य बनाइनुपर्ने र प्रदेश र जिल्लामा पनि जुन तहबाट आएका हुन्, सोही पद दिइनुपर्ने पूर्वमाओवादी खेमाको माग छ ।
शनिबारको बैठकमा ७ जना उपाध्यक्ष हुनुपर्ने, पोलिटब्यूरो कमिटी बनाइनुपर्ने र जेठ २ मा फर्कने सहमति कार्यान्वयन हुनुपर्ने मागहरु उठेका थिए । आज ओली, पोखरेल र पौडेलले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।यही असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा एमालेले प्रथम विधान महाधिवेशन हुँदैछ । सोही विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमाथि तीन दिनदेखि एमालेको केन्द्रीय कमिटीमा छलफल भइरहेको छ ।
प्रतिक्रिया