काठमाडौं, ९ असोज। पीडब्लुसीको आवद्ध स्थानीय फर्मले कार्ल्सबर्ग इण्डियाको सन् २०१८÷१९ को लेखापरिक्षण गर्न अस्वीकार गरेको थियो । यसको कारण थियो, सञ्चालक समितिका तीन जना सदस्य उक्त वित्तिय विवरणमा हस्ताक्षर गर्न मानेका थिएनन् । उनीहरूले नियामकीय कमजोरी औंल्याउँदै त्यसबाट पन्छिएका थिए । कार्ल्सबर्गका एसियाका कर्पोरेट मामिला निर्देशक स्टीभ देङले रोयटर्सलाई बताए अनुसार, नेपालस्थि खेतान समूहसँगको व्यवसायिक द्वन्द्व यसमा प्रतिबिम्बित भएको हो ।
भारतमा कार्ल्सबर्गको लगानी साझेदार (सहलगानीकर्ता), नेपालको खेतान समूह हो ।काल्सर्वर्गले यो व्यावसायिक द्वन्द्वलाई छिटो टुंग्याउने पनि बताएको छ । खेतान समूह र कार्ल्सबर्गको विवाद कार्ल्सबर्गको साझेदारले लिएको ऋणको भुक्तानीसँग सम्बन्धित छ । उक्त ऋण भुक्तानीको बदलामा खेतान समूहले यसको बाँकी स्वामित्व कार्ल्सबर्गलाई बिक्री गर्न चाहेको छ, तर अत्यन्त उच्च मूल्यमा । कार्ल्सबर्गले उक्त सेयरको मूल्य यति उच्च राखिएको छ कि जसको औचित्य नै सिद्ध गर्न सकिदैन भनेको छ । भारतमा कार्ल्सबर्गसँगको साझेदारी सीपी खेतानले हेर्छन् । उनी यसबारेमा टिप्पणी नै गर्न चाहँदैनन् । भारतमा कार्ल्सबर्गको वित्तीय विवरणमा असहमति राख्ने तीन जना सञ्चालक समिति सदस्य खेतान समूहबाट मनोनित हुन् । ती तीनजना सञ्चालकले भारतको वाणिज्य र कर्पोरेट मन्त्रालयलाई व्यापारमा दिएको छुट, विज्ञापन र बिक्री प्रवद्र्धन र नियामकीय अनुपालना कानुन अनुसार नभएको भनेर समेत लेखी पठाएका छन् । अन्य सात जना सञ्चालकले भने यो भारत सरकारको नियमन र औद्योगिक उत्पादनसँग सम्बन्धित अनुपालनाभित्रै रहेर सन् २०१८÷१९ को वित्तिय विवरणमा हस्ताक्षर गरेको उल्लेख गरेका छन् ।
२०६८ साउन २ मा खेतान समूहले गोर्खा ब्रुअरीको ९० प्रतिशत सेयर कार्ल्सबर्ग सिंगापुरलाई बेचेको थियो । १० प्रतिशत सेयर अहिले पनि राजेन्द्र खेताले नेतृत्व गरिरहेको खेतान समूहसँगै छ । गोर्खा ब्रुअरीले कम्पनीको ४ लाख २८ हजार ८०५ कित्ता सेयर ७२ करोड ५१ लाख रुपैयाँमा बेचेको थियो ।
तत्कालीन सरकारले बजेटमार्फत् सेयरमा लाग्ने पुँजीगत लाभकर घटाउने निर्णय कार्यान्वयन गरेको दोस्रो दिन कम्पनीको सेयर बिक्री भएको थियो । तत्कालीन सरकारले कर्पोरेट सेयर कारोबारमा लाग्ने कर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो । यो सञ्चालक समितिमा रहेको मनमुटाव त अदालतसम्मै पुगिसकेको छ। अहिले त्यो मनमुटाव व्यवस्थापन पक्षमा देखिएको पनि छ।
गोर्खा ब्रुअरीमा ९० प्रतिशत लगानी विदेशी लगानीकर्ता कार्ल्सवर्ग साउथ एसिया प्रालिको छ भने १० प्रतिशत सेयर स्वामित्व नेपाली व्यावसायिक घराना खेतान समूहको छ। कार्ल्सवर्ग साउथ एसियाले प्रबन्धनिर्देशकको रुपमा भारतीय नागरिक अजितबाबु नरसिंहलाई नियुक्त गरेको थियो।
उनले एक कार्यकाल पूरा समेत गरिसकेका छन्। यसैबीच, यही वर्ष उनको कार्यकाल दोहोर्याउने निर्णय भयो। उनले दोस्रो कार्यकालको काम सुरु गरे।
सोही कम्पनीमा खेतान समूहबाट सुरेन्द्र सिलवाल सहायक प्रबन्धनिर्देशक रहेका छन्। प्रबन्धनिर्देशकका रुपमा अजितबाबु नरसिंहले दोस्रो कार्यकाल सुरु गरेपछि यी दुई अर्थात् प्रबन्धनिर्देशक र सहायक प्रबन्धनिर्देशकबीच लफडा देखिएको हो। सिलवालले कम्पनीमा आफ्ना प्रस्तावहरूमा निर्णय गराउने कोशिस गर्दै आएका थिए। उनी आफ्नो योजना कार्यान्वयन गराउन तल्लीन छन्। ‘व्यवस्थापन तहमा विदेशी लगानीकर्ताभन्दा खेतान समूहको कुराहरु बढी प्राथमिकतामा पर्छन्’, कम्पनीका एक अधिकारीले भने, ‘ ‘सिलवालले त्यसमा अन्य कर्मचारीहरुलाई पनि दबाब दिँदै आइरहेका छन्।’ ती अधिकारीका अनुसार केही समयदेखि अजितबाबु नरसिंह र सुरेन्द्र सिलवालबीच बोलचाल बन्द छ । ‘केही दिनअघि सिलवालले उच्च तहदेखि गार्डहरु लगायत सबै कर्मचारीलाई आफ्नो साइड लिन भने’, ती अधिकारीले भने, ‘अजितबाबु नरसिंहलाई अफिस नै पस्न नदिने निर्णय भयो।’
अजितबाबु हात्तीसारस्थित ब्रुअरीको कार्यालयमा आए तर सिलवालको योजनाअनुसार उनलाई गार्डले पस्न दिएनन्। त्यसपछि अजितबाबु कार्यालय नै नआई भारत गइसकेको स्रोतहरूको दाबी छ।
किन हावी हुन खोजे सिलवाल ?
पहिलो कारण, नेपाली नागरिक भएकाले कर कार्यालय, राजस्व अनुसन्धान विभागलगायत सरकारी निकायसँग सम्बन्धित समस्याहरु हल गर्न उनलाई भारतीय मूलका अजितबाबु नरसिंहलाई भन्दा सहज हुने नै भयो। ब्रुअरीमा हावी हुन खोज्दै सिलवालले आफूलाई व्यवस्थापनको प्रमुख बनाउनुपर्ने माग उठाउँदै आएका छन्।
लफडा बढ्दै जानुको अर्को कारण सञ्चालक समितिकै विवाद व्यवस्थापन पक्षमा समेत देखिनु हो। खेतान समूहबाट अहिले गोर्खा ब्रुअरी सुरेन्द्रले हेरिहेका छन् जो प्रेमप्रकाश खेतानका मान्छे हुन्। त्यस्तै विदेशी लगानीकर्ताका मान्छे हुन् अजितबाब। पछिल्लो समय सञ्चालक समितिमा खेतान समूहविना नै विदेशी लगानीकर्ता कार्ल्सवर्ग साउथ एसिया अघि बढ्न खोजेपछि सिलवाल बढी सक्रिय हुनथालेका हुन्। स्रोतका अनुसार पछिल्लो समय खेतान समूह व्यवस्थापनदेखि बजारसम्ममा आफ्नो निर्णयहरु हावी बनाउँदै सञ्चालक समितिप्रति रिस पोख्ने योजनामा छ। किनकि साउथ एसियाले खेतान समूहलाई सञ्चालक समिति र साधारणसभामा प्रतिनिधित्व हुनबाट नै रोकिरहेको छ। सोही कारण खेतान समूहले अजितबाबुलाई कम्पनीबाट नै निकाल्ने योजना बनाएको थियो। जुन अहिले सफल समेत भएको छ। खेतान समूहको अबको योजना भनेको विदेशी लगानीकर्ता सञ्चालक समितिमा जति नै हावी भएर निर्णय गरे पनि व्यवस्थापनमा त्यो कार्यान्वयन नगराउने हो। विगत केही वर्षदेखि नेपाली पार्टनर र विदेशी लगानीकर्ताबीच एक बहुराष्ट्रिय कम्पनीमा रहेको विवादले उत्पादन र बजारमा समेत नकारात्मक प्रभाव पार्न थालिसकेको छ। करिब ३ वर्ष अघिसम्म नेपालको कुल बियर बजारमा गोर्खा ब्रुअरीको उत्पादनले ६० प्रतिशतभन्दा माथि बजार हिस्सा लिएकोमा हाल ४८ प्रतिशतमा झरेको कम्पनीको भनाइ छ।
प्रतिक्रिया