काठमाडौं, ९ असोज । वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्। माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा आबद्ध हुँदै उनले सक्रिय राजनीति सुरु गरेकी हुन । नेकपा एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको हो।यसअघि लिमा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन्। उनी नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिवसमेत हुन्। अधिकारीले ठूलो बुबा (पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी) र बुबाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन्।‘
मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेन्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ’, अधिकारीले भनिन्, ‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले हामीजस्ता राजनीतिमा हामीजस्ता युवाहरुको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ।’राजनीतिमा थुप्रिएको फोहोर सफा गर्न ‘मुलुकबाट लिने नभई दिने’ उद्देश्यसहित आफू राजनीतिमा सक्रिय हुने उनको भनाइ छ।
प्रतिक्रिया