समानुपातिकतर्फ १३ लाख मत पाएको माओवादी केन्द्रले एकै वर्षमा पार्टीको सदस्य संख्या ३० लाख पुर्याउने रणनीति तयार

काठमाडौं, ९ असोज ।  नेकपा माओवादी केन्द्रमा एक वर्षभित्र पार्टीको सदस्य संख्या ३० लाख पु¥याउने दाबी पेस गरेको छ । हाल माओवादीको सदस्य संख्या कति छ, यकिन विवरण छैन। तर २०७४ को निर्वाचनमा माओवादी केन्द्रले समानुपातिकतर्फ १३ लाख मत पाएको थियो। यहि मतलाई आधार मानेर मत संख्याभन्दा सदस्य संख्या दोब्बर पार्ने दाबी बुधबार बसेको स्थायी समितिको बैठकमा अर्थमन्त्री समेत रहेका संगठन विभाग प्रमुख जनार्दन शर्माले गरेका थिए। शर्माले संगठन विस्तारका लागि कार्यकर्तालाई उत्साहित बनाउन यस्तो दाबी पेश गर्नु एउटा पक्ष हो तर, माओवादीको अहिलेसम्मको संगठन संरचना हेर्दा ३० लाख सदस्य बनाउन निकौ सकस पर्ने देखिन्छ ।

शर्माले दाबी गरेको आधा अर्थात् १५ लाख मात्रै सदस्य बनाउन सक्यो भने पनि पार्टी सदस्य संख्याको आधारमा माओवादी सबैभन्दा ठूलो पार्टी हुनेछ। एमाले र कांग्रेसको सदस्य संख्या अहिलेसम्म १० लाखभन्दा कम नै रहेको छ। ‘हाम्रो पार्टीको सदस्य संख्या ३० लाख बनाउनुपर्छ। म डेढ लाख नयाँ सदस्य बनाउन सक्छु,’ बैठकमा शर्माले सोधे, ‘प्रत्येक स्थायी समिति सदस्य डेढ लाख बनाउन तयार हुनुहुन्छ ,’स्थायी समितिदेखि केन्द्रीय सदस्य, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरु खटिँदा त्यो संख्या बनाउन कुनै समस्या नरहेको शर्माले बताए । बिहीबार संगठन विभागको बैठक बसेको थियो। शर्मा प्रमुख रहेको संगठन विभागमा सातै प्रदेशका इन्चार्जसहित ११ सदस्य रहेका छ्न । ‘मैले संगठन निर्माणमा तीव्रता दिन र सबै तहका नेताहरु एकैपटक परिचालित हुनेगरी ३० लाख सदस्य पु¥याउने अभियान सुरु गर्ने प्रस्ताव लगेको छु,’ शर्माले भने, ‘यसो गर्दा सबैको भागमा केही सदस्य बनाउनुपर्ने जिम्मेवारी थपिन्छ र त्यसले संगठन छिटो बन्छ।’ ‘मेरो तर्फबाट भोलिदेखि नै यो अभियान सुरु गर्न तयार छु,’ शर्माले भने । प्रदेश १ का इन्चार्ज तथा संगठन विभाग सदस्य सुरेन्द्र कार्कीले बिहीबारको बैठकमा आक्रामक रुपमा संगठन विस्तारलाई तीव्रता दिइने विषयमा गहन छलफल भएको बताए।

स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले अहिले भएको संख्या, विभिन्न पार्टीबाट प्रवेश गरेका संख्या, सबै प्रदेश, स्थानीय तहलाई सक्रिय बनाउँदा २० लाख सदस्य सजिलै थप गर्न सकिने दाबी गरे। ‘अहिले हाम्रो पार्टीमा साढे १४ लाख समर्थक रहेको बताउदै खनालले भने, ‘विभिन्न पार्टीबाट हाम्रो पार्टीमा प्रवेश गरेका, सातै प्रदेश र स्थानीय तहमा अहिले भएका संख्या सक्रिय बनाउँदा २० लाख पु¥याउन गाह्रो छैन। बाँकी त त्यही संख्याले तान्न सकिन्छ भन्ने हो।’ उनले संगठन विभागको बैठकमा सबै तहबाट हिसाबकिताब गरेर त्यो संख्या निकालिएको र पार्टी कमिटीमा सर्कुलर पठाइएको जानकारी दिए।संगठन विभागले बनाएको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि पेस गरिएको छ। शुक्रबार अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमै पुगेर शर्माले पार्टीका सबै नेताहरु क्रियाशील हुनेगरी सदस्य संख्यामा व्यापक वृद्धि गर्न सकिने प्रस्तावबारे ब्रिफिङ गरेका हुन्।

सक्रिय र साधारण सदस्य

माओवादी केन्द्रले सक्रिय सदस्य र साधारण सदस्य गरी दुई आधारमा पार्टी सदस्य दिन लागेको छ। सक्रिय सदस्य बन्नका लागि केही वर्षदेखि माओवादी पार्टीमा आबद्ध भएको हुनुपर्ने छ भने भर्खर पार्टी प्रवेश गर्नेहरू साधारण सदस्य बन्न सक्ने छन्। संगठन विभागको शनिबार बस्ने बैठकले संगठन विस्तारको योजनाको खाका तयार पार्नेछ। दस वर्षको जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा माओवादीको सक्रिय सदस्य संख्या ८ लाख रहेको र खुला राजनीतिमा आएपछि त्यो संख्या बढेको खनालले बताए।२०६४ मा भएको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले २० लाख मत पाएको थियो। तर, २०७० मा भएको दोस्रो संविधानसभामा त्यो संख्या घटेर १३ लाख कायम भयो। ०७४ मा आइपुग्दा त्यो १३ लाख संख्या घटेको त छैन तर, बढ्न पनि सकेन। संसदीय राजनीतिको तेस्रो चुनावी कार्यकाल अभ्यास गरिरहेको माओवादी केन्द्रले अहिले भने संगठन विस्तारलाई उच्च प्राथमिकता दिएको स्थायी समिति सदस्य चक्रपाणि खनालले बताए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board