(ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू

काठमाडौं, ९ असोज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ ।

उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ खेल्दै छन् । खेल नेपाली समय अनुसार सवा १२ बजेदेखि शुरु हुनेछ।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ। काठमाडौं पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियुमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन् ।

राउन्ड रोविन लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेल हुनेछ । यस खेलको विजेताले फाइनल स्थान बनाउनेछ । यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो ।

इपिएलको इतिहासमा ललितपुर सर्वाधिक सफल टोली हो । पहिलो र तेस्रो संस्करण ललितपुरले हात पारेको थियो । ललितपुरले तेस्रो संस्करणको उपाधि जित्दा कप्तान ज्ञानेन्द्र मल्ल कप्तान थिए । तर, यसपटक व्यक्तिगत कारण देखाउँदै मल्लले प्रतियोगिता सुरु हुनु तीन दिनअघि मात्र इपिएल नखेल्ने घोषणा गरेका छन् । ललितपुरले उनको स्थानमा कुशल भुर्तेललाई कप्तानीको जिम्मेवारी दिएको छ । काठमाडौं किंग्सका कप्तान सन्दीप लामिछाने छन्।

यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन्।

प्रत्येक टिममा ४(४ जना गरी ६ टिमका २४ विदेशी खेलाडी प्रतिस्पर्धामा उत्रन लागेका छन्।

ती २४ खेलाडी विभिन्न ११ देशका छन्। श्रीलंकाबाट सबैभन्दा बढी ८ खेलाडीले इपिएल खेल्दैछन्।

यस्तै टेस्ट टिमको कप्तान भइसकेका चार खेलाडी पनि इपिएलमा छन्।

हाल बंगलादेशको एकदिवसीय टिमका कप्तान तमिम एकबालसहित पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी, जिम्बावेका टी–२० टिमको कप्तानी गरिसकेका सिकन्दर राजा र श्रीलंकाका पूर्वकप्तान उपुल थारांगा यसपटकको इपिएलमा मैदान उत्रनेछन्।

इपिएलमा आबद्ध विदेशी खेलाडी र टिमका कप्तान

भैरहवा ग्लाडिएटर्स : तमिम एकबाल (बंगालदेश), उपुल थारांगा (श्रीलंका),  धम्मीका प्रसाद (श्रीलंका), शर्भिन मुनिएन्डी (मलेसिया)   कप्तान-  शरद भेषवाकर

चितवन टाइगर्स :  मोहमद शाहजाद (अफगानिस्तान),  करिम जनत (अफगानिस्तान), सिकुगे प्रशन्न (श्रीलंका), विरनदीप सिंह (मलेसिया)  कप्तान – सोमपाल कामी 

पोखरा राइनोज :  साहन अरचिगे (श्रीलंका), रिचार्ड लेभी (दक्षिण अफ्रिका), असेला गुणरत्ने (श्रीलंका), केसरिक विलियम्स (वेस्ट इन्डिज)      कप्तान – विनोद भण्डारी

विराटनगर वारियर्स :  रायन पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्ट इन्डिज), सिकन्दर राजा (जिम्बावे), दीलसान मुनावीरा (श्रीलंका)     कप्तान – करण केसी

काठमाडौं किंग्स ११ : शाहिद अफ्रिदी (पाकिस्तान), जनक प्रसाद (सिंगापुर),  रायन बर्ल (जिम्बावे), राहमानुल्लाह गुरबाज (अफगानिस्तान)  कप्तान – सन्दीप लामिछाने

ललितपुर प्याट्रिओट्स :  अजमातुत्लाह ओमार्जाइ (अफगानिस्तान), ओसाडा फर्नान्डो (श्रीलंका), सान्दुन वीराकोडी (श्रीलंका), मिक्यो दोर्जी (भुटान)  कप्तान – कुशल भुर्तेल

तमिम एकबाल हाल बंगलादेशका एकदिवसीय टिमका कप्तान हुन्। 

उपुल थारांगा सन् २०१६ मा श्रीलंकाको एकदिवसीय टिमको कप्तान बनेका थिए। सन् २०१७ मा उनलाई टी-२० टिमको कप्तान बनाइएको थियो। टिम लगातार पराजित भएपछि उनले २०१७ मै कप्तानी छाडेका थिए। 

सिकन्दर राजा पनि जिम्बावेका टी-२० टिमका पूर्व कप्तान हुन्। 

शाहिद अफ्रिदीले पाकिस्तानको टी-२०, एकदिवसीय र टेस्ट गरी तीनै टिमको कप्तानी गरेका थिए।

कुन देशबाट कति खेलाडीरु
श्रीलंका – ८
अफगानिस्तान – ४
मलेसिया – २
जिम्बावे – २
वेस्ट इन्डिज – २
बंगलादेश (१
क्यानडा (१
पाकिस्तान – १
सिंगापुर – १
भुटान – १
दक्षिण अफ्रिका – १

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board