बिहारको प्रस्ताव : वर्षायामको रातमा बिजुली लैजाने र हिउँदका दिनमा फर्काउने

काठमाडौं, ८ असोज । वर्षायामको रातमा बिजुली लैजाने र हिउँदकाका दिनहरुमा फर्काउने बिहारले प्रस्ताव गरेको छ । नेपालमा खपत भएर बढी भएको विद्युत् भारतको विहारसँग आदान(प्रदानको लागि प्राधिकरणले छलफल अघि बढाएको छ । प्राधिकरणले वर्षायाममा खेर गएको बिजुली किन्न गरेको प्रस्तावमा विहारको सरकार सकारात्मक देखिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संसदको विधायन व्यवस्थापन समितिमा बुधबार यसबारे जानकारी दिएका छन् । उनका अनुसार विहारले वर्षायाममा नेपालको साँझ ७ बजेदेखि विहान ६ बजेसम्म बिजुली लैजान प्रस्ताव गरेको छ । बिहारले त्यसको सट्टामा हिउँदयाममा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म नेपाललाई बिजुली दिन सकिने बताएको छ । यसअनुसार बिहारले जति युनिट बिजुली वर्षायाममा लैजाने छ, त्यति नै युनिट बिजुली त्यसको सट्टामा हिँउदमा फिर्ता गर्नेछ ।

खेर जाँदै करोडौंको बिजुली

प्राधिकरणका अनुसार अहिले खपत हुन नसकेर दिउँसो पनि करिब ३०० मेगावाट र राति ४०० देखि ५०० मेगावाट बिजुली खेर गइरहेको छ । वर्षायाममा राति ११ बजेपछि बिहान ६ बजेसम्म उत्पादित बिजुली खेर जाँदैछ ।

बिजुली खेर फाल्न निजी र आफ्नै सहायक कम्पनीहरुका आयोजना बन्द गराउँदा हर्जना तिर्नुपर्ने भएकाले प्राधिकरणले आˆनै आयोजना बन्द गर्ने गरेको छ । अब वर्षे भेल रोकिएर खोला-नदी सामान्य भएपछि केही समय त आधा बिजुली फाल्ने अवस्था आउँछ ।

निजी प्रवर्द्धकहरुको बिजुली प्राधिकरणले आफ्नो कारणले नलिए क्षतिपूर्ति तिर्ने गरी विद्युत खरिद सम्झौता गरेको हुन्छ । त्यसले प्राधिकरणलाई करोडौंको वित्तीय क्षति मात्रै भएको छैन, सम्भावित लाभ पनि गुम्दैछ ।

नेपालको बिजुली किन्ने निर्णय पनि नलिएको भारतले नेपालको बिजुलीलाई आफ्नो ऊर्जा बजारमा प्रवेश दिन ढिलाइ गरेपछि त्यसको मार र भार नेपाल विद्युत प्राधिकरणले भोग्नुपर्ने अवस्था छ ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बिजुली बिक्री गर्न अनुमति मागेको ६ महिनाभन्दा बढी भइसकेको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी र ४५ मेगावाटको भोटेकोशी आयोजनाको विद्युत वर्षायाममा भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गर्ने प्रस्ताव गरेको छ ।

आफ्नो ‘डे-अहेड’ र ‘टर्म-अहेड’ मार्केटमा प्रवेश दिने गरी प्रक्रिया तय गरेर ‘कन्डक्ट अफ बिजनेस रुल’ (सीआरबी) जारी गरेको भारतले अनुमति दिन भने आनाकानी गर्दै आएको छ ।

नेपाल विद्युत प्राधिकरणलाई भारतले आफ्नो एक्सचेन्ज बजारबाट बिजुली विद्युत खरिद र आयात गर्ने अनुमति गत वैशाख १ गते दिएको थियो । त्यसअनुसार प्राधिकरणले आवश्यक परेको बेला प्रतिस्पर्धी दरमा बिजुली किन्न थालिसक्दा सोही बजारमा लगेर नेपालको बिजुली बेच्न भने भारतले अनुमति दिएको छैन ।

प्राधिकरणले आफ्नो जोडलबलले बिहारमा थोरै मात्रामा भएपनि बिजुली निर्यात गरिरहेको छ । उत्पादनको हिसावले अब त्यती निर्यात नगण्य हुन पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसङको टोलीले बिहारसँग वर्षायाममा बिजुली लगेर हिउँदमा फर्काउने गरी छुट्टै सहमतिको प्रस्ताव गरेका थिए । यसबारे बिहारले आफ्नो प्रस्ताव पठाएपछि अब दुबै पक्ष यसबारे अध्ययन गरेर सहमति जुटाउने तयारीमा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board