एमालेको बैठकमा देखिन छाडेका प्रभु साहले राखे ८ बुँदे माग

काठमाडौं, ८ असोज । तत्कालीन नेकपाका केन्द्रीय सदस्य साह पुस ५ को नेकपा विभाजनपछि केही दिन प्रचण्ड(माधव समूहमा देखिएका प्रभु साहको पार्टीगत हैसियत अहिले के हो ? उनी आइटी आर्मीको ब्यानरमा आफूलाई पूर्वमन्त्रीका रूपमा विभिन्न कार्यक्रमहरूमा उपस्थित गराइरहेका छन् । तत्कालिन केपी ओली शर्माको पक्षमा लागेर शहरी विकास मन्त्रीसमेत भएका साह सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी ब्युँतिएपछि पनि एमालेकै नेताका हैसियतमा थिए । तर उनी विभिन्न मञ्चबाट प्रचण्डको चर्को विरोध पनि गरिरहेका थिए । पछिल्लो समय भने उनी न त एमालेका बैठकमा उपस्थित छन्, न एमालेका कार्यक्रममै देखिन्छन् ।

त्यसो भए प्रभु साह अहिले कुन पार्टीका नेता हुन् ? साहले आफू नेकपाको निरन्तरता भएको पार्टी खोजेको भन्दै एमाले नेतृत्वसमक्ष आफ्ना ८ बुँदे माग राखेका छन् । ती माग सम्बोधन नभए एमालेमा बस्न नसक्ने उनले बताएका छन् । साह पछिल्लो समय रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टहरुसहितको पूर्वमाओवादी समूहको बैठकमा थिए । पूर्वमाओवादी समूहको तर्फबाट विभिन्न कमिटी र जनवर्गीय संगठनमा समावेश गर्ने सदस्यहरूको नाम तय गर्ने बैठक थियो त्यो । यसबीचमा साहका मागका सम्बन्धमा महासचिव ईश्वर पोखरेल रहेको कार्यदलले पनि काम गरिरहेको एमालेले जनाएको छ । साहको हैसियत अहिले एमालेको केन्द्रीय सदस्य छ । तर, उनले एमालेका स्थायी कमिटी सदस्य माग गरेका छन् । उनको मुख्य अन्तरविरोध भने प्रदेश २ मै देखिएको छ । नेकपाकालमा प्रदेश २ को अध्यक्ष रहेका साहलाई एमाले भएपछि भने सो जिम्मेवारीबाट हटाएर माओवादीबाट प्रमु साहसँगै एमाले बनेकी ज्वालाकुमारी साहलाई अध्यक्ष बनाइएको छ । प्रभु र ज्वालाको अन्तरविरोधमा अध्यक्ष ओलीले ज्वालालाई साथ दिएकोमा उनको चित्त बुझेको छैन । जिल्ला कमिटी अध्यक्षहरू चयन गर्दा पनि ज्वालाले एकलौटी गरेको भन्दै प्रभु साहले अश्वीकार गरेका थिए । रौतहटमा राम्रो प्रभाव रहेका साह माओवादीबाट एमाले बनेका प्रतिनिधिसभाका चार पूर्वसांसदमध्ये सबैभन्दा बलियो जनाधार भएका नेता हुन् ।

प्रभु साह निकट स्रोतले भने ज्वाला साहसँगको अन्तरविरोध अ‍ोलीले नै सिर्जना गरेको भन्दै नेकपा एकता अदालतबाट बदर भएपछिको सहमति कार्यन्वयन नहुँदा एमालेमा बस्न समस्या रहेको दावी गरेको छ । साह निकट एक नेताले भने–एमाले नाम राख्ने तर नेकपाकै विधान र विचारलाई निरन्तरता दिने कुरामा मिलेन । प्रदेश २ कै सन्दर्भमा १ महानगरसहित ३ जिल्ला इन्चार्ज र ४ जिल्ला अध्यक्ष पूर्व माओवादीले पाउने सहमति पनि लागु भएन । वैचारिक विमतिका कुराहरु छन्,पदको विवाद होइन । ओलीले साहलाई स्थायी कमिटी सदस्य उतिबेलै प्रस्ताव गरेपनि समग्रमा पार्टी एकताको भावना अनुसार चल्नुपर्ने माग रहेको उनी निकटहरुले बताएका छन् । आइटी आर्मीकै सन्दर्भमा ओली नकारात्मक रहेको साहको आरोप छ । उनी आजको अवस्थामा पनि चुनाव जित्ने हैसियत राख्छन् ।

अहिले उनले आइटी आर्मी नामको मोर्चाबाट जनपरिचालन र कार्यकर्ता परिचालनको काम गरिरहेका छन् । उनले एमालेसमक्ष आइटी आर्मीलाई जनवर्गीय संगठनको मान्यता दिन माग गरेका छन् । माओवादीमा हुँदा उनको लिगेसी बाबुराम भट्टराई हुँदै टोपबहादुर रायमाझीसँग थियो । आइटी आर्मीको उद्घाटनमा रायमाझी प्रमुख अतिथि थिए । प्रभु साहले एमालेलाई जेठ २ अघिको होइन जेठ ३ पछिको अवस्थामा लैजानुपर्ने माग गरेका छन् । उनको आठ बुँदे मागमा जनताको बहुदलीय जनवाद होइन नेकपाले अपनाएको जनताको जनवादलाई महाधिवेशनमा लैजानु पर्ने माग समेत राखेका छन् । त्यस्तै एमालेको जेठ २ अघिको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादीको केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्नुपर्ने माग राखेका छन् । प्रभु साहले एमालेको विधान महाधिवेशन होइन एकताको पार्टी महाधिवेशन हुनुपर्ने माग समेत गरेका छन् । उनका कतिपय माग पूरा गर्न नसकिने भए पनि अरु विषय सम्बोधन हुने एमाले स्रोतले जनाएको छ । तर, साह भने एमालेमा रहन नसकिने ठाउँमा पुगेको उनीनिकट नेताहरूबताउँछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board