१० बुँदे कार्यान्वयन नभएकोमा तेस्रो धारका नेताको असन्तुष्टि

काठमाडौं, ८ असोज । नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका हुन् ।

अपानी कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने रावलको माग रहेको एक नेताले जानकारी दिए ।तर अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन् । २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि माधवकुमार नेपाल समूहमा रहेका दोस्रो पुस्ताका नेताहरु एमालेमै बसेका थिए ।

तर तेस्रो धारका १० नेता निकटका केन्द्रीय सदस्यहरुले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पस्ट नभएसम्म कुनैपनि बैठकमा सहभागी नहुने बताएका हुन् ।

साथै उनीहरुले तेस्रो धारको नेतृत्व गरेका १० जना नेताहरुलाई पनि बैठकमा सहभागी नहुन दवाव दिइरहेका छन् । झपट रावल, भानुभक्त जोशी लगायतका नेताहरुले यस्तो दवाव दिएपछि तेस्रो धारका नेता घनश्याम भुसालले समेत आफु निकटका नेताहरुले अघि सारेको माग जायज भन्दै त्यसबारे स्पस्ट नभएसम्म बैठकमा सहभागी नहुने आफु निकटका नेताहरुलाई बताएका छन् ।

असन्तुष्ट नेताहरु समूहगत छलफलमा सहभागी नहुने र १० बुँदेको कुरा उठेपछि बैठकस्थल बाहिर उपाध्यक्ष समेत रहेका तेस्रो धारका नेता भीम रावल र ओली निकट मानिएका सचिव प्रदीप ज्ञवालीबीच छलफल भएको छ ।

एमालेमा तेस्रो धारका नेताहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board