तालिम दिने संस्थाका कारण, इजरायल जान आवेदन दिएका २८ सय जनाको कागजपत्र नक्कली

काठमाडौँ, ८ असोज । इजरायल जान एक महिने तालिम लिएर तीन महिनाको प्रमाणपत्र पेश गरेका करिब २८ सय जनाले नक्कली कागजपत्र पेश गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन फारम अस्वीकृत गरेको थियो ।

संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका थिए । तर, परीक्षामा ७ हजार ९ जना मात्रै सहभागी हुन योग्य ठहरिएका थिए ।

‘आवेदकले प्रमाणपत्रहरु, उचाई, तौल, शेक्षिक योग्यता लगायतका कुुरा स्वघोषणा गरी निवेदन दिएका थिए,’ उनले भने,’तर, प्रमाणीकरणका क्रममा कागजातमा त्रुटि देखिएपछि रद्ध गरेका थियौं, आजसम्म एक जना पनि मेरो आवेदन किन रद्ध भयो भनेर सोध्न आएनन् ।’

खाडी मुलुक र मलेसिया जस्ता देशको तुलनामा राम्रो पारिश्रमिक पाइनुको साथै लागत खर्च पनि कम लाग्ने भएका कारण कामदारका लागि इजरायल आकर्षक गन्तव्य मानिन्छ। विभागका अनुसार इजरायल जानका लागि करिब एक लाख रुपैयाँ खर्च लाग्छ भने त्यहाँ कामदारले महिनाको एक लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक पाउने दुवै देशबीचको सम्झौता छ । दुई वर्ष अघिसम्म मेनपावर व्यवसायीले पठाउँदा मनपरी गरेपछि इजरायल सरकारले नेपाली कामदार लैजान रोकेको थियो। दुई वर्षपछि मेनपावरको साटो जिटुजी प्रक्रियाबाट कामदार लैजान इजरायल तयार भएपछि गत असार २१ गते दुवै देशबीच सम्झौता भएलगत्तै विभागले कामदार छनोट प्रक्रिया अघि बढाएको थियो। इजरायल जान कामदारको उमेर २५ देखि ४५ वर्ष ननाघेको, १।४ मिटर अग्लो तथा ४५ केजी तौलभन्दा कमी हुन नहुने लगायतका मापदण्डको साथै केयर गिभर सम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनु पर्ने मापदण्ड तोकिएका थिए ।

एक महिने तालिम दिएका संस्थाहरूले भने तीन महिना तालिम दिएको प्रमाणपत्र जारी गर्दा तीनै महिनाको शुल्क असुलेका थिए। इजरायल जान निवेदन दिएका व्यक्तिहरूले महिनाको १६ हजार रुपैयाँ असुलेका संस्थाहरूले प्रमाणपत्र दिँदा तीन महिनाकै शुल्क असुलेको बताए। तालिम दिने संस्थाका कारण अयोग्य भएका पीडितहरूले एक महिने तालिम दिएर तीन महिना तालिम दिएको प्रमाणपत्र जारी गर्ने संस्थाहरूलाई पनि कारबाही गर्नु पर्ने माग गरेका छन्। इजरायल जाने मोहमा लामो समयदेखि काठमाडौं बस्दा लाख रुपैयाँ बढी सकियो, नवलपरासी, कावासोतीकी जुना गुरुङले भनिन्, तालिम दिने संस्थाका कारण हामीलाई अयोग्य घोषणा गरिनु जायज होइन। तालिम दिने संस्थाहरूलाई कारबाही गरे मात्र आफूहरूले न्याय महसुस गर्ने उनको भनाइ छ। वैदेशिक रोजगार बोर्डले इजरायल जाने कामदारलाई केयर गिभरको तालिम दिन १९ संस्थालाई छनोट गरेको थियो।

विभागका अनुसार भदौ २८ गते भएको परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए भने कागजपत्र प्रमाणीकरण भएकामध्ये ६९२ जना अनुपस्थित रहेका थिए । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियो । उत्तरपुस्तिकालाई चिकित्सा शिक्षा आयोगमा लगेर मेसिनले नै जाँच्ने प्रविधिको प्रयोग गरेर जाँच गरिएको काफ्लेले बताए । ‘सचिवज्यू र इजरायलका राजदूतज्यूले पोको खोलिदिनुभएपछि रातभर लगाएर हामीले भोलिपल्ट १० बजेसम्म नतिजा तयार गरेका थियौं,’ उनले भने,’११ बजे हामीले परीक्षाफल प्रकाशित गरेका थियौं ।’ परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १३९५ जना महिला र ६४४ जना पुरुष छन् । भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता लिइनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति