संशोधित बजेट दुवै सदनबाट पारित, अबको के हुन्छ ?

काठमाडौं, ७ असोज । वर्तमान सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए । सो विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको हो । राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाउनेछन् । नेपालमा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति (सटडाउन) निम्तिएको थियो । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले सटडाउन निम्तिन नदिने गरी समयमै प्रतिस्थापन विधेयक अघि सार्न सकेको थिएन । अहिले संवैधानिक अङ्ग तथा निकायहरू (संघीय सञ्चित कोषमाथि हुने व्ययभार) बाहेक नेपालमा अन्य खर्च रोकिएको छ । तर, दुवै सदनले बजेट पारित गरेकाले अब राष्ट्रपतिबाट प्रमाणीकरण हुनासाथ खर्च अवरोध हट्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board