बैठकको सुरुमै नाराबाजी गरेपछि एमाले सांसदलाई सभामुखको सम्बोधन यस्तो

काठमाडौं, ७ असोज । आजको प्रतिनिधिसभा बैठकको सुरुवातमै एमाले सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका थिए । लगातार संसद बैठकमा अवरोध गर्दै आएको एमालेलाई सभामुख अग्नि सापकोटाले सम्बोधन गर्दै यथास्थानमा बसेर सभा सञ्चालनका लागि आग्रह समेत गरे । उनले नाराबाजी गरिरहेका सांसदहरुलाई संविधानको धारा १ सय ५ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को पनि स्मरण गराएका थिए ।

म्बोधन
संसद लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलो हो । संसदको बैठकमा पुर्याइने अवरोधले लोकतान्त्रिक अभ्यासमाथि संकुचन ल्याउँछ । त्यसमाथि अहिले हामी देशको आर्थिक प्रशासनसँग सम्बन्धित अत्यावश्यक अर्थ विधेयकहरुको प्रक्रियामा छौँ । तसर्थ माननीय सदस्यहरुलाई आ–आफ्नो स्थानमा आशन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग पुर्याउनका लागि अनुरोध गर्दछु ।

माननीय सदस्यहरुले बैठक सञ्चालनमा पुर्याउनुभएको अवरोधले यस सभामा छलफल गर्नुपर्ने विषयले गति लिन सकेको छैन । देशका विभिन्न समस्याहरु तथा जनजीविकाको पक्षमा प्रतिनिधिसभाका अन्य सदस्यहरुले समेत बोल्न पाउनुभएको छैन । यी यावत समस्याहरूमा उहाँहरुको ध्यानाकर्षण गराउँदै बैठक सञ्चालनका लागि आ–आफ्नो स्थानमा आशन ग्रहणका लागि अनुरोध गर्दछु ।

नेपालको संविधानको धारा १ सय ५ ले अदालतमा विचाराधीन मुद्दाहरूको सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पार्नेगरी संघीय संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मरण गराउन चाहन्छु । प्रतिनिधिसभा नियमावली २०७५ नियम २१ को खण्ड ख, ग र घ का प्रावधानहरु हामी सबैले पालना गर्नुपर्ने प्रावधानहरु हुन् । उल्लेखित प्रावधानहरुको पालनका लागि पुनः अनुरोध गर्दछु ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति