काठमाडौं , ५ असोज । नेपाली व्यापारीले चीनबाट दसैँ/तिहार लक्षित गरेर मगाएको सामान आइपुगेको छैन । चीनबाट नेपालमा दसैँ/तिहारका लागि लत्ताकपडा, जुत्ता/चप्पल, इलेक्ट्रोनिक्स र खेलौना लगायत सामान साथै लसुन, प्याज र स्याउसमेत आउने गरेको छ ।
नेपाल–चीन सडकमार्गमा सवारी आवागमन प्रभावित हुँदा सामान ल्याउन समस्या भएकाले चीनबाट सामान अझैसम्म नआइपुगेको हिमालय सीमापार वाणिज्य संघका निर्वतमान अध्यक्ष बच्चु पौडेलले जानकारी दिए । सडकमार्ग हुँदै आयात गरिएको सामान १५ दिनमै नेपाल आइपुग्छ तर कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा तथा केरुङ र तातोपानी सडकमा पटक–पटक पहिरो चल्दा निम्तिएको सडक अवरोधका कारण ६० दिन लगाएर समुद्रीमार्ग प्रयोग गरी भारत हुँदै पर्याप्त सामान ल्याउनुपर्ने बाध्यता व्यापारीलाई परेको छ ।
संघका अनुसार चीनको समुद्री बन्दरगाहबाट सिंगापुर, श्रीलंकाको कोलम्बो र भारतको बन्दरगाह हुँदै नेपालसम्म सामान ल्याइपु¥याउँदा दुई महिनासम्म समय लाग्छ ।संघका उपाध्यक्ष नयन पण्डित क्षेत्रीले चीनबाट आइपुग्ने सामान नेपालभर वितरण हुन दुई सातासम्म लाग्ने र बजारमै नआइपुग्दा थोक व्यापारीले देशभर सामान वितरण गर्न नसकेको बताएका छन् । पसलमा सामान नै नभएपछि बजारमा चहलपहल नभएको व्यापारीहरूको दाबी छ । वर्षौँदेखि व्यापार सम्बन्धमा रहेका ग्राहकलाई गोदामको स्टक सामान दिइरहेको तर गोदाममा पनि प्रशस्त सामान नहुँदा भने व्यापार प्रभावित बनेको साथै बजारको धेरथोर माग पनि धान्न नसकेकोले होलसेल व्यापारीहरूलाई समस्या भएको उपत्यका क्षेत्रका व्यापारीहरुले बताए ।
प्रतिक्रिया