पूर्व युवराज्ञी हिमानीलाई म्याम, म पनि तपाईं जस्तै मान्छे बन्न चाहन्छु भनेपछि…


काठमाडौं, ४ असोज । प्रायः पठनपाठनमा व्यस्त हुने जनकपुरस्थित कन्या माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी सोमबार बिहान भने कक्षाकोठा भित्र–बाहिर गरिरहेका थिए। घरी गेट बाहिर हेर्थे, घरी कक्षाकोठाभित्र पस्थे।जसै बिहानको ११ बज्यो, त्यसपछि भने विद्यालयको माहोल बदलियो। कक्षाकोठा छोडेर विद्यार्थी र शिक्षक चउरमा उभिए।

फूल दिंदै उनीहरूले पूर्व युवराज्ञी हिमानी शाहको स्वागत गरे।पूर्व युवराज्ञी शाह पनि चउरमा धेरै बेर नपर्खेर शिक्षक र विद्यार्थीसँगै कक्षाकोठामा प्रवेश गरिन्। कक्षा १० का विद्यार्थीसँगै बेन्चमा बसेकी शाहले शिक्षक र विद्यार्थीसँग भलाकुसारी गरिन्।यो विद्यालयका थुप्रै समस्या छन्। प्रधानाध्यापक मोदनारायण राउतले भौतिक पूर्वाधारको अभाव, खानेपानीको समस्या भएको सुनाए। “यो चउर पानी पर्दा पोखरी बन्छ, विद्यार्थीलाई आउन–जान समस्या हुन्छ,” राउतले पूर्व युवराज्ञी शाहसँग भने। थुप्रै कठिनाइ भए पनि जेनतेन पढाइ गरिरहेको उनले बताए।सँगै कक्षाकोठामा बसिरहेकी शाहसँग विद्यार्थीले पनि जिज्ञासा राखे। एक विद्यार्थीले सोधिन्, “म्याम, म पनि तपाईं जस्तै राम्रो मान्छे बन्न चाहन्छु। तपाईं जस्तै बन्न कुन विषय पढ्नुपर्छ?”

पूर्व युवराज्ञी शाह मुस्कुराइन्। उनले विद्यार्थीलाई सम्झाउँदै भनिन्, “अहिले सबै विषयमा राम्रै छ। जुन विषय पढे पनि मिहिनेत गरेर पढ्नुस्। असल मान्छे बन्न सकिन्छ।”विद्यार्थीले पूर्व युवराज्ञी शाहसँग फोटो खिचाउन आग्रह गरे। उनी बाहिर निस्कनै लाग्दा विद्यार्थीले भने, “म्यामसँग फोटो खिचौं।” त्यसपछि शाहले विद्यार्थीसँग फोटो खिचाइन्।हिमानी ट्रस्ट मार्फत विद्यार्थीलाई सहयोग गर्न उनी जनकपुर पुगेकी थिइन्। शुद्ध खानेपानीको अभाव भएकाले ट्रस्टले फिल्टर बोतल वितरण गरेको ट्रस्टका प्रतिनिधि उत्तम निरौलाले बताए। “नितान्त विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले आउनुभएको हो। विद्यार्थीलाई फिल्टर बोतल वितरण गर्नुभएको छ, उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति