काठमाडौ, ३ असार । काठमाडौं, ३ असोज । दशैँ स्किम कुरिरहेका मोटरसाइकल ग्राहकलाई अर्थमन्त्री जनार्दन शर्माले महंगीको उपहार दिएका छन्। सरकारले परिमार्जित बजेटमार्फत तयारी अवस्थाका मोटरसाइकलमा कर बढाएसँगै दशैँ स्किम कुरेर बसेका ग्राहक महंगीमा परेका हुन्। सरकारले मोटरसाइकलको वर्गीकरण गर्दै सबैभन्दा धेरै बिक्री हुने १२५ देखि १५५ सीसीसम्मका मोटरसाइकलमा करवृद्धि गरेको हो। नेपाली दुईपांग्रे अटोबजारमा १२५ देखि १५५ सम्मको बजार हिस्सा एक तिहाइ छ। सरकारले १२५ देखि १५५ सीसीसम्मका मोटरसाइकलको नयाँ वर्गीकरण गरी १० प्रतिशत अन्तःशुल्क र ३ हजार सडक दस्तुर बढाएको छ।
पुरानो व्यवस्थाअनुसार २५० सीसीसम्मका बाइकमा ४० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अहिले वर्गीकरण नै परिवर्तन गरेको छ। हाल सरकारले १२५ सीसीसम्मका बाइकमा ४० प्रतिशत, २ सय सीसीसम्ममा ५० प्रतिशत र २५० सीसीसम्ममा ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ। ५ सय सीसीमाथिका मोटरसाइकलमा ८० प्रतिशतबाट १०० प्रतिशत पुर्याएको छ। त्यस्तै सडक दस्तुरतर्फ १२५ सीसीदेखि १५० सीसीसम्ममा १५ हजार लाग्दै आएकोमा १८ हजार पुर्याएको छ।नाडा अटोमोबाइल्स एसोसिएसनका दुईपांग्रे समितिका सभापति अभिक ज्योतिले दशैँको मुखमा कर बढाउँदा अटो बजार बढी प्रभावित हुने बताए।
नेपालमै एसेम्बल उद्योग भएकालाई असर नपर्ने देखिए पनि बाहिरबाट १२५ देखि १५० सम्म आयात गर्नेलाई समस्या आएको ब्यवसायीहरु बताउछन् । नेपालमा गोल्छा ग्रुपले बजाजका अधिकांश मोटरसाइकलको एसेम्बल गर्दै आएको छ भने जगदम्बा ग्रुपले पनि गत वर्षबाट अपाचे सिरिजका मोटरसाइकल एसेम्बलिङ सुरु गरिसकेको छ। सरकारी नीतिले सबैभन्दा अप्ठ्यारोमा एमएडब्लु ग्रुपको यामाहा र ज्योति ग्रुपकै होन्डालाई पर्ने देखिन्छ। ‘सबैभन्दा बढी अप्ठ्यारो यामाहा मोटरसाइकललाई पर्ने भएको छ’, रिसिक अटोमोबाइल्सका सञ्चालक तथा यामाहाका डिलर मिलनबाबु मल्लले भने, ‘हाम्रो बढी बिक्री हुने १२५ देखि १५५ सीसीका हुन्।
यामाहाको मूल्य १५ देखि २५ हजार रुपैयाँसम्म बढेको छ।’ यामाहाले दशैँलक्षित आकर्षक अफर ल्याएको थियो। यामाहाले अहिले स्टकमा रहेको बाइक रहेकाले तत्काल बढाएको छैन। ‘यामाहाको स्टक रहने बेलासम्म मूल्य बढाउने कम्पनीको नीति रहेको छैन’, नाडा कार्यसमिति सदस्य समेत रहेका मल्लले भने, ‘अब भन्सार पास हुनै सबै मोटरसाइकलको मूल्य बढ्छ।’ एनएमजीका अध्यक्ष ज्योतिले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्नु सरकारको नीति राम्रो भए पनि १५० सीसीसम्मको बाइकमा कर बढाउनु उपयुक्त नभएको बताए।
प्रतिक्रिया