चीनका ४० वर्षीय कोलिन ह्वाङले एकै वर्ष २७ अर्ब डलर गुमाएर बनाए विश्व कीर्तिमान

चिनियाँ इकमर्स प्लेटफर्म पिन्डुओडुओ इन्कका संस्थापक कोलिन हुआङले खराब विश्व कीर्तिमान बनाएका छन्। एकै वर्षमा धेरै सम्पत्ति गुमाउनेमा कोलिनले विश्व कीर्तिमान कायम गरेका हुन्। ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार कोलिनको सम्पत्ति २७ अर्ब डलरले घटेको हो। चीनले प्रविधि कम्पनीहरुमाथि अनुसन्धान, कडाइ, प्रतिबन्ध र जरिवानालगायतका कदम चालेपछि कम्पनीको सेयरमा पहिरो जाँदा कोलिनको सम्पत्ति ह्वात्तै घट्नपुगेको बताइएको छ।

ब्लुमबर्ग अर्बपति सूचकांकका ५ सय सदस्यमध्ये कोलिनको घटेको सम्पत्ति सबैभन्दा धेरै हो। यो चीनकै एभरग्रान्डे ग्रुप प्रमुख हुई का यानले गुमाएको १६ अर्ब डलरभन्दा धेरै हो। यानको घरजग्गा व्यवसाय अहिले ऋणमा डुब्दै गएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘साझा समृद्धि’को अभियान अघि सार्दा निजी क्षेत्रका कम्पनीहरु र अर्बपतिमा यसको उछाल देखिएको छ। यो वर्ष पिन्डुओडुओको सेयर अलिबाबा ग्रुप होल्डिङ लिमिटेड वा टेन्सेन्ट होल्डिंग्स लिमिटेडको तुलनामा धेरैले ओरालो लागेको छ।

चिनियाँ नियामकीय कडाइपछि अलिबाबा र टेन्सेन्टजस्ता नाफादायक परिपक्व कम्पनीभन्दा पिन्डुओडुओ निकै असुरक्षित देखिएको हङकङस्थित एभरब्राइट सन हंग काई को।का सुरक्षा रणनीतिकार केनी एनजी बताउँछन्।

अलिबाबाको एडीआरको ३३ प्रतिशतको तुलनामा पिन्डुओडुओको अमेरिकी डिपोजिटरी रिसिप्ट्स यो वर्ष ४४ प्रतिशतले घटेको छ। त्यस्तै टेन्सेन्टको हङकङ सेयरबजारमा सेयर मूल्य २० प्रतिशतले घटेको छ।

पिन्डुओडुओमा कोलिनको २८ प्रतिशत सेयर स्वामित्व छ। उनले सन् २०१५ मा यो कम्पनी स्थापना गरेका थिए। कम्पनीले छिट्टै बजारमा सकारात्मक प्रभाव छोड्न सफल भएको थियो। गत डिसेम्बरमा कम्पनीका सक्रिय प्रयोगकर्ता नै ७८ करोड ८० लाख पुगेको थियो। उसले चर्चित कम्पनी अलिबाबालाई नै माथ दिएको थियो। त्यतिबेला अलिबाबाको अनलाइन मार्केटप्लेसमा सक्रिय प्रयोगकर्ता मात्र ७७ करोड ९० लाख थिए। अहिले कम्पनीको बजार मूल्यांकनमा समेत ठूलो गिरावट आएको थियो। यसअघि १ खर्ब ७८ अर्ब अमेरिकी डलरसम्म बजार मूल्यांकन पुगेको थियो। गत महिनामात्रै कम्पनीले पब्लिकमा गएपछि पहिलोपटक त्रैमासिक खुद नाफा भएको सार्वजनिक गरेको थियो। हाल कोलिन ३५ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक छन्। उनले गत वर्ष प्रमुख कार्यकारी अधिकृत र गत मार्चमा कम्पनीको प्रमुखबाट राजीनामा दिएका थिए। धेरै गुमाउनेमा परेका कोलिनको सम्पत्ति बढ्दा पनि २५ अर्ब डलरले बढेको थियो।

चिनियाँ राष्ट्रपति सीले सम्पत्तिको खाडल पुर्ने अभियान अघि सारिरहँदा पिन्डुओडुओ पनि आर्जित नाफा दान गर्ने कम्पनीहरुको सूचीमा पर्छ।

गत महिनामात्रै कम्पनीले देशको कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न डेढ अर्ब डलर खर्च गर्ने बताएको थियो। त्यसअघि गत वर्ष पिन्डुओडुओको फन्डिङ टिमले पनि दुई अर्ब ४० करोड डलरबराबरको कम्पनीको सेयर च्यारिटेबल ट्रस्टलाई दिएको थियो।

अझ रोचक कुरा त ब्लुमबर्गको अर्बपति सूचकांकमा यो वर्ष धेरै सम्पत्ति घटेका १० ठूला अर्बपतिमध्ये ६ जना चीनकै रहेका छन्। तीमध्ये बोतलमा पानी बिक्री गर्ने कम्पनीका प्रमुख झोंग शान्सान पनि छन्। उनले १८ अर्ब डलर गुमाएका छन्। त्यस्तै धेरै सम्पत्ति गुमाउनेमा एभरग्रान्डेका हुई, टेन्सेन्टका पोनी मा ९१० अर्ब डलर० पनि छन्।

ती ६ जनाबाहेक अलिबाबाका सहसंस्थापक ज्याक माले यही वर्षमात्रै ६।९ अर्ब डलर गुमाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति