काठमाडौं, २ असोज । गृहमन्त्रालयको नेपाल–चीन सीमा अध्ययन टोली ३ वटा सीमास्तम्भ नहेरी फर्किएको छ । भौगोलिक विकटता र मौसम प्रतिकूल हुँदा टोलीले हुम्लाको उत्तरी सीमामा रहेका ३, ४ र ११ नम्बर सीमास्तम्भको अध्ययन गर्न नसकेको हो । नेपाल–चीन सीमा क्षेत्रको अध्ययनका लागि गृह मन्त्रालयले गठन गरेको टोली हुम्लाको सिमकोट विमानस्थलमा ।
३ वटै सीमास्तम्भ समुद्र सतहदेखि ५२ सय मिटर उचाइका हुन् । ३ नम्बर सीमास्तम्भ बझाङको सिमानासँग जोडिएको छ भने ४ नम्बर स्तम्भ हिल्सामा र ११ नम्बर स्तम्भ हिल्सा–लिमी जाने बाटोमा छन् । सीमास्तम्भबारे अध्ययन गर्न गृह मन्त्रालयले सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा ७ सदस्यीय टोली गठन गरेको थियो ।टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका एसएसपी उमेशराज जोशी, सशस्त्र प्रहरीका एसएसपी प्रदीपकुमार पाललगायत सहभागी थिए । ‘पैदलमार्गबाटै जान खोजेका थियौं, तर हिउँले ढाकिएको, ठाडो बाटो भएको र सधैं बादल लागिरहने क्षेत्र भएकाले जान सकिएन,’ टोली संयोजक आचार्यले भने, ‘मौसम प्रतिकूलताका कारण हेलिकप्टरबाट पनि जान सकिएन । हामी (शुक्रबार) सुर्खेत फर्कियौं ।
’चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिकाको नेपाली भूभाग अतिक्रमण भए नभएको सम्बन्धमा अध्ययन गर्न टोली खटिएको हो । टोलीले हुम्लाको सिमानामा पर्ने अन्य ७ वटा स्तम्भको भने स्थलगत अध्ययन गरेका थियो । १, २, ५, ६, ७, ८, ९, १० र १२ नम्बर सीमास्तम्भ अध्ययन गरिएको टोली प्रमुख आचार्यले बताए । उनका अनुसार यीमध्ये १२ नम्बर सीमास्तम्भ ५ हजार ४८ मिटरमा छ भने सबैभन्दा कम ९ नम्बर सीमास्तम्भ झन्डै ३६ सय मिटरको उचाइमा छ ।२७ गते सिमकोट पुगेको टोली सिमकोटदेखि हल्जीसँग गाडीमा गएको थियो । अन्य ठाउँमा हिँड्नुपरेको थियो ।
१२ नम्बर सीमास्तम्भ अध्ययन गर्न बढी कठिन भएको टोलीले जनाएको छ । ‘त्यहाँ पुग्दा हावा लागिरहेको थियो, पानी पर्नेबित्तिकै हिउँ पर्न थाल्यो,’ संयोजक आचार्यले भने, ‘भूगोल पनि कठिन थियो ।’ उनका अनुसार समस्या भएको भनिएको सीमास्तम्भ पनि १२ नम्बर नै हो ।टोलीले एक साताभित्रै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । गृहको टोलीले अध्ययन गर्न नसकेका सीमास्तम्भमा एक महिनाअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको थियो । प्रहरीले त्यहाँ समस्या नभएको जनाएको आचार्यले बताए । टोलीले अध्ययन गरिएका सबै सीमास्तम्भको भौगोलिक अवस्थिति र सामाजिक अवस्थाबारे तथ्यांक लिएको जनाएको छ ।
प्रतिक्रिया