चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं, १ असोज । चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज शुक्रवार दिउँसो काठमाडौं आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खोप ल्याउन निगमको वाइडबडी जहाज हिजो बिहीवार राति चीन गएको थियो । एकै खेपमा यति धेरै खोप ल्याइएको यो पहिलो पटक हो ।यसअघि एक भायलमा दुई डोज खोप मात्र हुन्थ्यो । अहिले एक भायलमा पाँच डोज खोप हुन्छ । आज आइपुगेको खोप आउँदो सोमवारदेखि वितरण गरिने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।यो खोप १८ वर्षदेखि ५० वर्षसम्मका नागरिकलाई लगाउने तयारी छ । यस्तै हिमाली जिल्लामा भने १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ ।

यो खोप कहिलदेखि लगाइन्छ ?

चीनबाट आइपुगेको खोप केही दिनभित्रै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा। सागर दाहालले बताए ।

उनका अनुसार अहिलेसम्मको खोप कभरेजदर हेरेर खोप वितरण गर्न लागिएको छ । जसअनुसार हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना बनाइएको छ । ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुने दाहालको भनाइ छ ।
त्यस्तै, काभ्रे, चितवनमा ३५ वर्षभन्दा माथि, अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ ।

त्यसैगरी, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने दाहालले जानकारी दिए ।

‘१८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका भएका विद्यार्थी, फन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका मानिसलाई समेत खोप दिने योजना रहेको छु’ दाहालले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board