अमेरिकामा राष्ट्रपति बाइडेनलाई तालिबान बनाएपछि……..

काठमाडौं, १ असोज ।  अमेरिकाको पेन्सलभेनिया राज्यमा अचेल अनौठा खालका होडिङ बोर्ड राखिएका छन्। राजमार्ग छेउलगायत राज्यका विभिन्न दर्जन बढी ठाउँका होडिङ बोर्डमा एउटै कुरा छ। ती होडिङ बोर्डमा लेखिएको छ– मेकिङ द तालिबान ग्रेट अगेन अर्थात् तालिबानलाई फेरि महान् बनाउँदै,

२० वर्ष लामो युद्ध अन्त्य गर्दै अफगानिस्तानबाट लथालिंग तरिकाले अमेरिका फर्किएको केही समयपछि पेन्सलभेनियामा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नै तालिबानजस्तो बनाएर होडिङ बोर्ड राखिएका हुन्। होडिङ बोर्डमा बाइडेनलाई तालिबानको जस्तो पहिरन लगाइएको छ भने उनले रकेट लन्चर पनि बोकेको देखाइएको छ।

यसरी होडिङ बोर्ड राख्ने व्यक्ति रिपब्लिकन पार्टीका तर्फबाट राज्यको सिनेटर बनिसकेका स्कट वागनर हुन्। फक्स न्युज च्यानललाई पठाएको इमेलमा उनले हतार(हतार अफगानिस्तानबाट अमेरिका फर्किँदा तालिबानहरू बलिया भएको उल्लेख गर्दै यसमा राष्ट्रपति बाइडेनको गलत नीति जिम्मेवार रहेको बताएका छन्। बाइडेनप्रतिको आफ्नो त्यही असन्तोषलाई सार्वजनिक रूपमा पोखेको उनले बताएका छन्। ती होडिड बोर्डमा सामग्री राख्न आफूले १५ हजार डलर खर्च गरेको उनले बताएका छन्।

दुई महिनासम्म ती होडिङ बोर्डको ठाउँ आफूले किन्ने उनको भनाइ छ।वागनरले देशका अरू भागमा पनि अनुमति मिले यस्ता होडिङ बोर्ड राख्ने बताएका छन्।यसअघि रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले मेक अमेरिका ग्रेट अगेन भन्ने नारा बनाएका थिए।त्यही नारालाई वागनरले नयाँ बनाएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति