काठमाडौं, ३१ भदौ । सत्तारुढ गठबन्धनका शीर्ष तहका नेताहरुले मन्त्रालय भागवण्डाबारे सहमति खोज्ने जिम्मा कार्यदललाई दिएका छन् । दोस्रो तहका नेताहरु रहेको कार्यदलले बुधबार र बिहीबार छलफल गरेको छ, तर कुनै सहमति जुटाइसकेको छैन ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु छन् ।एक सदस्यका अनुसार अहिलेसम्म मन्त्रालयको संख्यामा नै सहमति जुट्न सकेको छैन । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले सबै पार्टीलाई मन्त्रालयको संख्या बराबर भागवण्डा हुनुपर्ने बताएको छ । त्यसमा जसपाको पनि मौन समर्थन देखिन्छ ।हाल २१ वटा मन्त्रालय छन् र संविधानअनुसार बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइन्छ ।
यदि बराबर भागवण्डा हुने हो भने एउटा दलले ६ मन्त्री र अरुले ५ मन्त्री र एक राज्यमन्त्री पाउँछन् । तर सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र माओवादी केन्द्र त्यसमा सहमत छैनन् ।संसदमा दलको सांसद संख्याका आधारमा मन्त्रालय भागवण्डा हुनुपर्ने दुबै दलको अडान छ ।
नेताहरुका अनुसार संख्या नटुंगिएका कारण कुन मन्त्रालय कुन दलले लिने भन्ने अन्यौल कायमै छ ।
प्रतिक्रिया