बुटवल, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बिहीबारको पहिलो बैठक स्थगित भएको छ । दिउँसो करिब १ बजेर ५० मिनटमा पहिलो बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए ।सूर्य चिह्नबाट चुनाव लडेका तर अहिले अन्य पार्टीमा गएपछि पार्टीले कारबाही गरेका दुई सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना नदिएको विरोधमा एमाले विरोधमा उत्रिएको हो ।
एमाले सांसद नाराबाजीमा उत्रेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक एक घण्टाका लागि स्थगित भएको सूचना सुनाएका थिए । तर अझैसम्म बैठक सुरु भएको छैन । प्रदेशसभाका प्रवक्ता रमेश गौतमले दलहरु आन्तरिक बैठकमा रहेकाले बैठक सुरु नभएको बताए ।गठबन्धन सरकारले नया नीति कार्यक्रम र बजेट ल्याउने तयारीका साथ संसद् बैठक बोलाएको थियो । बिहीबारको बैठकमा जनता समाजवादी पाटीबाट नवनियुक्त सांसद निर्मला मुठभरी भट्राई र नेकपा समाजवादी रोजेकी रमा घर्तीबारेमा सूचना सुनाउने तथा केही विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सत्तापक्षले छलफल गरे पनि एमालेले कारबाही गरेका दुई सांसद निलम्बनको सूचना नल्याएसम्म बैठक चल्न नदिने बताए । यस अघि प्रदेशसभा बैठक तीन पटक स्थगित भइसकेको छ । बुधबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो ।
प्रतिक्रिया