बजेट होलिडेको भय : एकै दिन सरकारी कोषबाट १५ अर्ब बढी खर्च

काठमाडौं । बजेट होलिडेका कारण बिहीबारबाट सरकारले बजेट खर्च गर्न नपाउने स्थितिआएको छ । सरकार र प्रतिपक्षको ससंसदको कारबाही चलाउने विषयमा सहमति नहुंदा खर्च नै नहुने अवस्था आएको हो । बजेट होलिडे हुने भयका कारण बुधबार मात्र सरकारले एकै दिन करीब १५ अर्ब रुपैयाँ खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । खर्च भएको रकममध्ये चालु खर्चमा ८ अर्ब ७० करोड र वित्तीय व्यवस्थामा ६ अर्ब रुपैयाँ खर्च भएको नियन्त्रक कार्यालयले जनाएको छ । पुँजीगत तर्फ १६ करोड रुपैयां खर्च भएको तथ्यांकमा देखिएको छ । अब संसदको बैठक ४ असोजमा बोलाइएको छ । यो अवधिमा सरकारले बजेट खर्च गर्न पाउँदैन । १५ जेठमा अध्यादेशबाट आएको बजेट निष्क्रिय हुने समय नजिकिँदै गर्दा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सो विधेयक संसदबाट पास भएपछि मात्र सरकारले बजेट खर्च गर्न सक्ने बाटो खुल्छ ।

महालेखा नियन्त्रक कार्यालयले २४ भदौबाट लागु हुने गरी तीन दिनका लागि अनिवार्य दायित्वबाहेकका सबै भुक्तानी रोक्न निर्देशन दिएको थियो । यसरी रोकिएको भुक्तानी फुकुवा भएसँगै बुधबार एकै दिन ठूलो रकम खर्च भएको छ । चालु खर्चमा भएको अधिकांश रकम तलव भत्तामा खर्च हुन्छ । सामान्यतया सरकारले तलव भत्ता २८–२९ गते नै खातामा पठाउने हुँदा पछिल्लो अवरोधले कर्मचारीको भदौ महिनाको तलव प्राप्तिमा भने समस्या नपर्ने देखिएको छ । नेपालको इतिहासमै यस्तो अवस्था पहिलो पटक आएको हो । प्रमुख प्रतिपक्ष दल एमालेले आफु नै सत्तामा हुंदा जारी गरेको बजेट अध्यादेश समेत पेश गर्न र पारित गर्नबाट पछि हटेपछि यो स्थिति आएको हो । एमालेको अवरोधका बीच अध्यादेश संसदमा पेश भएपनि पारित गर्ने बेला भने सत्ता पक्षले बल मिच्याई गर्न चाहेन । किन कि उसले प्रतिस्थापन विधेयक पास गरेर आफ्नो खालको बजेट पारित गर्ने तयारी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board