काठमाडौं, ३१ भदौ । पार्टी विभाजनपछि नेकपा एमालेले चुनावी गतिविधिलाई तीव्रता दिन थालेको छ ।अवको निर्वाचानमा बहुमत ल्याउने दावी सहित नेकपा एमालेले चुनावी अभियानमा लाई तिव्रता दिएको हो । एमालेले अरु दलहरुलाई पछिपार्दै औपचारिक रुपमा निर्वाचनको प्रचार प्रसार सुरु गरेको राजनीति बृत्तमा चर्चाहुन थालेको छ ।
हिजो मात्र बुटवलमा भएको कार्यक्रममा ‘देशलाई तीव्र विकासको बाटोमा अघि बढाउन, सुशासन र विकाससहित समृद्धि ल्याउन एमालेबाट मात्र सम्भव छ,’ आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने। उक्त कार्यक्रममा उपमहासचिव विष्णु पौडेलले भने, ‘आगामी निर्वाचनमा हामी एमालेको तागत र हैसियत देखाउँछौँ। जनताको समर्थन लिएर एमाले सरकारको नेतृत्वमा आउँछ। एमालेबाहेक अरु कसैले मुलुक बनाउन सक्दैन।’ यी भनाइले पनि पुष्टि गर्छ, एमालेलाई चुनाव लागिसकेको छ। पाँच दलीय गठबन्धन सरकार विस्तार समेत गर्न नसकेर अलमलिइरहेको बेला एमाले भने संगठन विस्तारसँगै चुनावलक्षित गतिविधिलाई प्रचार प्रसार दिएको छ ।
माधवकुमार नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमालेले भदौ दोस्रो साताबाट जिल्ला भेला थालेको थियो।
बुधबारसम्म ५० भन्दा बढी जिल्लाको भेला सकिएको र आगामी असोज पहिलो हप्ता ७७ वटै जिल्लाको भेला सकिने एमाले पार्टीले जनाएको छ ।
एमालेबाट करिब १० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एकीकृत समाजवादीमा लागेका छन्। बाँकी कार्यकर्तालाई एकीकृत समाजवादीमा जानबाट रोक्न र गएकाहरुलाई तान्ने प्रयास भइरहेको एमाले महासचिव ईश्वर पोखरेलले बताए। ‘
एमाले अध्यक्ष ओलीसहित सबै प्रमुख नेताहरु अहिले जिल्ला जिल्लामा छन्। पार्टी सचिव योगेश भट्टराई स्याङ्जा छन्। सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली गुल्मीमा छन्। अध्यक्ष ओलीले झापा, पोखरा र रुपन्देहीको बुटवलमा भएको सभालाई सम्बोधन गरे। महासचिव पोखरेलले सबै नेताहरु जिल्ला जिल्लामा खटाइएको छ। ‘विभाजनपछि पार्टीको अवस्था नबिग्रियोस् भनेर माथिदेखि तलैसम्म पार्टीलाई जोड्न नेताहरु खटाइएको एमालेले जनाएको छ ।
‘यो सबै चुनाव केन्द्रित नै हो। अहिलेको सत्ता गठबन्धनको हालत के हो, के हो, जुनसुकै बेला चुनाव हुनसक्छ,’ ती नेताले भने, ‘अब हुने चुनावमा स्थानीय तहमै केन्द्रित हुनुपर्ने भएकाले अहिलेदेखि गतिविधि बढाइएको हो।’ ‘यो वर्ष स्थानीय तहको चुनाव हुँदैछ। त्यसपछि लगातार प्रदेश र केन्द्र तहको चुनाव हुन्छ,’ रिजालले भने, ‘स्थानीय तह बलियो बनाए मात्र अन्य चुनावलाई सजिलो हुन्छ।’ केन्द्रीय सदस्य विष्णु रिजालले भने ।
एमाले चुनावलाई लक्षित गरेर जिल्ला र स्थानीय तहमा गतिविधि बढाउँदा अन्य दल भने अलमलमा छन्। सत्तारुढ कांग्रेस महाधिवेशनको तयारीमा छ। अन्य दलहरु सरकार विस्तारको प्रयासमा छन्। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले सदस्यता नवीकरण र नयाँ वितरण सँगैसँगै भइरहेको बताए।
तामाङका अनुसार एमालेका ८ लाख सदस्य थिए। विभाजनले २ प्रतिशत मात्रै क्षति भएको उनको दाबी छ। क्षति भएको संख्यालाई समेत पूर्ति हुनेगरी ५ लाखलाई नयाँ सदस्यता वितरण गर्ने काम पनि भइरहेको छ। असोजको १५, १६ र १७ मा विधान अधिवेशन तय गरेको एमालेले कात्तिक ७ गते सबै ६ हजार ७ सय ४३ वडाको अधिवेशन गर्दैछ। यस्तै कात्तिक ९ गते ७ सय ५३ वटै स्थानीय तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भइसकेको केन्द्रीय सदस्य रिजाल बताउछन् । त्यसो त जिल्ला भेलामा बोल्ने एमालेका नेताहरुले पार्टीभित्र देखा परेको संकटका विषयमा भन्दा बढी आफ्नो सरकारले गरेका कामहरुको प्रचार गरिरहेका छन्। पूर्णकाल सरकार चलाउन नपाउँदा जनताको काम गर्न नपाएको भन्दै पार्टीको बचाउ गरिरहेका छन्।
प्रतिक्रिया