विश्वासको मत लिन लागेका आचार्यले गरे मन्त्रिपरिषद् विस्तार


काठमाडौं, ३० भदौ । प्रदेशसभाबाट विश्वासको मत लिनका लागि बैठक आह्वान गरेका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार ५ जना मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् । मन्त्री नियुक्त भएकाहरुलाई आजै साँझ सपथग्रहण गराइएको छ । योसँगै प्रदेश १ को मन्त्रिपरिषद ८ सदस्यीय पुगेको छ ।

संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । यस्तै मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाइएको छ । यसअघि सामाजिक विकास मन्त्रीको रुपमा ताप्लेजुङका बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारी उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्ति भएका थिए ।

मुख्यमन्त्री पछाडि मन्त्रीहरुको पहिलो वरियतामा न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी, चौथोमा साम्सोहाङ राखिएको छ । यस्तै बस्नेत पाँचौं, राजवंशी छैठौं र अधिकारी सातौं नम्बरको वरियतामा नियुक्त भएका हुन्।
नेकपा एमालेको विभाजनसँगै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले संसदबाट विश्वासको मत नलिई मन्त्रिपरिषद विस्तार गरेका हुन् । विश्वासको मत लिनका लागि आचार्यले असोज २४ गते प्रदेशसभा बैठक बोलाएका छन् ।

संविधान अनुसार मुख्यमन्त्रीको पार्टी विभाजन भएपछि ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । नेकपा एमालेको विभाजनले भदौ ९ गते निर्वाचन आयोगबाट वैधानिकता पाएकोले असोज ८ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने दावी विपक्षी गठबन्धनले गरिरहेको बेला उनले भने असोज २४ गते विश्वासको मत लिने तयारीसहित मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board