बजेट बिर्सेर हाउस असोज ४ गते किन सारियो ? – एमाले


काठमाडौं, ३० भदौ ।  सरकार बजेटजस्तो संवेदनशील विषयमा सरकारले उदासिनता र गैरजिम्मेवार भएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आरोप लगाएको छ । बुधबार एमाले महासचिव ईश्वर पोखरलले बजेट पास गर्ने बेलामा सरकार र सभामुखले प्रतिनिधि सभा बैठक असोज ४ गतेसम्म स्थगित गरेर गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाएका हुन् ।

‘आफूलाई ईच्छा लागेको विजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं हाउस असोज ४ गते किन सारियो ? यसको जवाफ यो गैरजिम्मेवार सरकारले दिनुपर्छ’ एमालेले विज्ञप्तिमार्फत भनेको छ, ‘यो, नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चाल मात्र हो ।’ एमालेले सरकारको यसप्रकारको व्यवहारप्रति खेद व्यक्त गरेको छ ।यसअघि भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेसन एमालेको अवरोधका कारण संसदका कामकारवाही अवरुद्ध हुँदै आएका थिए ।

तर एमालेले आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तीय संकटको परिस्थिति सिर्जना हुनपुगेको दावी समेत गरेको छ । ‘लामो तयारी पछि ल्याइएको प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको छ । त्यसले विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च बृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको छ ’, एमालेले भनेको छ ।

त्यस्तै सन्तुलित विकासको अवधारणानुरुप प्रतिनिधिसभाका सदस्यहरूको आग्रहमा अघि बढाएको निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र पालिका जोड्ने पहुँच मार्गलगायतका १४०० भन्दा बढी विकास आयोजना कटौती गरेको भन्दै सरकारले अनिवार्य दायित्वभित्र पर्ने वित्त व्यवस्थापनको बजेट कटौती गर्ने गैरजिम्मेवारपूर्ण काम गरेको बताएको छ । ‘नेकपा (एमाले) बजेटजस्तो संवेदनशील विषयमा सरकारको उदासिनता र गैरजिम्मेवार रवैयाप्रति खेद व्यक्त गर्दछ ।

प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गर्दछ’, पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।एमालेले सरकारले प्रतिनिधिसभा बैठक सुरु भएपछि बजेट पारित गर्ने कुरालाई महत्व नदिई सत्ता स्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको भन्दै बजेट पारित गर्ने प्रमुख दायित्व रहने बर्षे अधिवेशन, बजेट अध्यादेश अलपत्र पारेर हठात अन्त्य गरेको स्मरण गराएको छ ।एमालेले प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको एमालेको भनाइ छ ।

‘जबकि प्रतिनिधिसभाको बैठक सुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन । बरु यसबीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढंगले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद अधिवेशन स्थगित गरियो । दल विभाजनसम्बन्धी अध्यादेश जारी हुनुपूर्व नै प्रतिपक्षी दलका संसदहरूमाथि गरिएको कारवाहीको सूचना प्रकाशित नगरी दल विभाजनलाई प्रोत्साहन दिने काम सभामुखका तर्फबाट भयो’, एमालेले भनेको छ ।

एमालेले सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानुनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको दावी गर्दै सभामुखबाट भएको पदीय मर्यादा विपरीतको अनुचित कार्यका विरुद्धमा आफ्नो असहमति र विरोध प्रकट गर्दै आइरहेको तर सभामुख र सरकारको तर्फबाट प्रतिपक्षको सहमतिबिना नै संसदको काम कारवाही अघि बढाउने काम भइरहेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति