उत्तर कोरियाको मिसाइल परीक्षण गरे लगतै अमेरिकाले भन्यो – वार्ताको ढोका खुला छ

काठमाडौं, २९ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडनका उत्तर कोरियाली दूत सुङ किमले वार्ताको लागि ढोका खुला रहेको बताएका छन् । उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेसँगै अमेरिकी दूतले यस्तो बताएका हुन् । टोकियोमा जापान र दक्षिण कोरियाली अधिकारीसँगको वार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।

उनले उत्तर कोरियाप्रति अमेरिकाको कुनै पनि शत्रुतापूर्ण व्यवहार नरहेको बताएका छन् । तीन मुलुकका राजदूतले उत्तर कोरियालाई पुनः वार्तामा ल्याउनुपर्ने विषयमा चर्चा गरेका थिए । त्यस्तै अहिले खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायता दिने प्रस्ताव पनि गरिएको थियो ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई वर्षअघि उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ताको प्रयास गरेका थिए । यद्यपि यो वार्तामा सफलता भने मिलेन । आइतबार उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको थियो । उत्तर कोरियाले यसअघि जो बाइडनले राष्ट्रपतिको शपथ लिएसँगै क्रुज मिसाइल परीक्षण गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board