संक्रमणको उच्च जोखिम : निपा भाइरस फैलाउने चमेरो नेपालमै

काठमाडौं, २९ भदौ । नेपाल पनि निपा भाइरस संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुसार निपा भाइरस संक्रमण गराउने प्रजातिको चमेरो नेपालमा पाइएको छ। त्यसकारण नेपाल उक्त भाइरस संक्रमणको उच्च जोखिममा परेको उनको भनाइ छ। उनका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभागमा सो प्रजातिको चमेरो पाइन्छ। ‘काठमाडौं उपत्यकाको केशरमहलमा समेत यो प्रजातिको चमेरो प्रशस्तै देखिन्छ,’ उनले भने। निपा भाइरस चमेरोबाट बंगुर, गाईगोरु र तिनीहरूबाट मानसिमा सर्ने गर्छ। मानिसबाट मानसिमा पनि यो भाइरस फैलिने गर्छ। यो भाइरस ‘फुट ब्याट जा टेरोपस’ प्रजातिको चमेरोमा पाइन्छ।

उक्त प्रजातिको चमेराले टोकेको फलफूल राम्रोसँग नपखाली खाएको अवस्थामा यो भाइरस मानिसमा सर्छ। संक्रमित व्यक्तिका दिशा, पिसाब, थुक, पसिना, रगत आदिबाट समेत अन्य व्यक्तिमा यो भाइरस सर्ने गर्छ। बंगुर व्यवसायीहरू त यो संक्रमणको झनै जोखिममा हु्न्छन्। नेपालमा निपा भाइरस संक्रमण गराउने प्रजातिको चमेरो रहेको बारे धेरै वर्षपहिले नै अनुसन्धान भइसकेको थियो। सन् २०१९ मा गरिएको अनुसन्धानअनुसार दाङ, सप्तरी, सुनसरी, मोरङ, झापा, कास्की, नवलपरासीलगायत जिल्लामा यो प्रजातिको चमेरो पाइन्छ। अहिले भारतमा निपा भाइरस संक्रमितको संख्या बढिरहेको छ। ‘भारतको केरला प्रदेशमा नेपालबाट पढ्न जाने विद्यार्थीको आउजाउ बाक्लो हुन्छ, अन्य प्रदेशबाट पनि आउजाउ भइरहन्छ,’ उनले भने, ‘यसले गर्दा पनि नेपालमा जोखिम धेरै छ।’नेपाल र भारतका नागरिक नियमित रूपमा एक देशबाट अर्कोमा आवतजावत हुनु र नेपालबाट नजिकै रहेको पश्चिम बंगालको सिलिगुढीमा पहिल्यै निपा भाइरस देखिनुजस्ता कारणले नेपाल सो भाइरसको उच्च जोखिममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।भारतमा फैलिरहेको निपा भाइरस संक्रमणको उच्च जोखिममा नेपाल रहेको महाशाखाले जनाएको छ। देशभरका सबै स्थानीय निकायलाई सतर्कता अपनाउन निर्देशन दिइसकिएको प्रवक्ता पौडेलले बताए।

यो प्रजातिको चमेरो भारत, मलेसिया, सिंगापुर, पोल्यान्ड, म्यान्मारलगायत देशमा पनि पाइएको छ। सन् २००१ मा नेपालसँग जोडिएको पश्चिम बंगाल राज्यको सिलिगुढीमा समेत यो भाइरस फैलिएको थियो। यो भाइरसको संक्रमण भएको व्यक्तिमा ज्वरो आउने, खोकी लाग्ने, वाकवाक लाग्ने, सास फेर्न गाह्रो हुने, जिउ दुख्नेजस्ता लक्षण देखिन्छन्। निपा भाइरसको औषधि बनिनसकेकाले अन्य भाइरसमा जस्तै लक्षणअनुसारको उपचार गरिन्छ। तर कतिपय व्यक्तिलाई भने कोमामा पुर्‍याएर मृत्युको मुखमा समेत धकेल्ने काम यसबाट हुन्छ।यो भाइरसबाट संक्रमित भएकामध्येमा ४५ देखि ७५ प्रतिशतको मृत्यु हुने सम्भावना रहेकाले तुलनात्मक दृष्टिले यो भाइरस जोखिमपूर्ण मानिन्छ। निपा भाइरसको खास उपचार नभएको र परीक्षणको पहुँचसमेत नेपालमा पर्याप्त नभएकाले यो रोगको संक्रमण भए पनि समयमै पहिचान हुन सक्ने अवस्था छैन।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board