नेपालले अमेरिकालाई ५ विकेटले हरायो, कुशल भुर्तेलले ८४ रन बनाउँदा रोहित पौडेलको अर्धशतक

काठमाडौं,२९ भदौ । कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक बनाएपछि नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २ सय ३१ रनको लक्ष्य ४९ ओभरमा पूरा गर्‍यो । कुशलले आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा ९३ बल खेली ३ चौका र ३ छक्का प्रहार गरे । रोहितले ८७ बलको इनिङ्समा २ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर आसिफ शेख २३, कप्तान ज्ञानेन्द्र मल्ल १७, कुशल मल्ल १ र विनोद भण्डारी ३७ रनमा आउट भए । विनोदले ४८ बल खेली २ चौका र १ छक्का प्रहार गरे । अमेरिकाका निसर्ग पटेल र नोसठुग केनजिगेले २–२ विकेट लिए ।

यसअघि मोनाङ्क पटेलले शतक बनाएपछि टस जितेर ब्याटिङ गरेको अमेरिकाले नेपाललाई २ सय ३१ रनको लक्ष्य दिएको थियो । अमेरिकाले ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा ९ विकेट गुमाई २ सय ३० रन बनाएको थियो ।

पटेलले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाएका हुन् । उनी ठयाक्कै एक सय रनमा आउट भए । १ सय १४ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरेका हुन् । निसर्ग पटेल २१ रनमा आउट भए । कप्तान सौरभ नेत्रभाल्कर ११ बलमा १३ रन बनाई अविजित रहे ।

नेपालबाट विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट लिए । विक्रमले ६ ओभरमा ३३, सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३५ र सुशनले १० ओभरमा ३१ रन खर्चे । कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । अमेरिकाका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

लिग २ को पछिल्लो शृंखला २०२० को फेब्रुअरीमा काठमाडौंमा हुँदा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो, जुन एकदिवसीय अन्तर्राष्ट्रियकै न्यून स्कोर पनि हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकामाथि नेपालले लगातार तेस्रो पटक जित हात पारेको हो ।

सहभागी सात टोलीमा छैटौं स्थानमा रहेको नेपालले मंगलबार आयोजक ओमानसँग खेल्दै छ । पपुवा न्यु गिनीविरुद्धको दुई एकदिवसीय अन्तर्राष्ट्रियमा विजय हात पार्दा नेपालले दोस्रो खेलमा उतारेको टोलीलाई नै खेलाएको थियो ।

लिग २ विश्वकप छनोटका आधार हो, जहाँ एक टोलीले ९ शृंखलासहित ३६ खेल खेल्ने छन् । शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् । नेपालले यो एक साता लिग २ का यही शीर्षस्थ टोलीसँग ओमानको मस्कटमा चार खेल खेल्ने छ ।

नेपाल जितका बाबजुद ६ अंकसहित छैटौं स्थानमा यथावत छ । अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board