संवैधानिक नियुक्तिसम्बन्धी रिटको तत्काल सुनुवाइ गर्न पूरक निवेदन

काठमाडौं, २८ भदौ । संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादमा आफूले दिएको रिटको तत्काल सुनुवाइको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् ।संवैधानिक इजलासमा सुनुवाइ तोकिएको अर्यालको रिटको सुनुवाइ न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशपछि रोकिएको थियो ।

सो इजलासले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने आदेश दिएपछि संवैधानिक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ रोकिएको छ ।केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश अनुसार बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग गर्दै अर्यालले सर्वोच्चमा रिट दिएका थिए ।

अध्यादेशअनुसारको संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशको पनि संलग्नता रहेको भनी इजलासमै प्रश्न उठेपछि सो रिटको सुनुवाइ प्रधानन्यायाधीशविनाको संवैधानिक इजलासमा सुनुवाइ हुने तय भएको थियो । तर न्यायाधीश फुयालको एकल इजलासको आदेशपछि सुनुवाई स्थगित छ ।अधिवक्ता अर्यालले आफूले दिएको रिटको सुनुवाइ तत्काल सञ्चालन गरी प्रारम्भिक सुनुवाइबाटै अन्तरिम आदेश जारी गरी निरन्तर सुनुवाइमा राख्न आदेश माग गरेका छन् ।उनले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध हुने काम कारबाही निष्क्रिय पार्न, रोकथाम गर्न, पुनरावृत्ति हुन नदिन र विना अवरोध सुनुवाइ सञ्चालन हुन दिन न्यायिक टिप्पणीसहित आदेश माग गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति