सभामुख सापकोटालाई एमालेले भन्यो – सांसदको पद रिक्त भएको सूचना टाँस्नुहोस् कि राजीनामा दिनुहोस्


काठमाडौं, २८ भदौ ।  सभामुखले आज दिउँसोको लागि बोलाएको सर्वदलीय बैठकमा संसदको विपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेका सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर एमाले बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् ।

भट्टराईले सभामुखलाई कि एमालेले कारवाही गरेका १४ सांसदको पद रिक्त भएको सूचना टाँस्न नभए राजीनामा दिन भनेका थिए । ‘उहाँलाई कि हामीले कारवाही गरेका सांसदको पद रिक्त भएको सूचना टाँस्नुहोस् कि राजीनामा दिनुहोस् भनेको हो,’ भट्टराईले भने । भट्टराईले यसो भनेपछि सभामुखले कुनै जवाफ नदिई फोन राखिदिएको उनले बताए ।

एमाले विभाजनमा सभामुखले भूमिका निर्वाह गरेको भन्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ । त्यसैको निकास खोज्नको लागि सभामुखले आज दिउँसो साढे २ बजे सर्वदलीय बैठक बोलाएका थिए । ‘संसदमा एमालेसँग टसल छ ।

सभामुखले सबै दलको बैठक बोलाएर के गर्न खोजेको? सर्वदलीय बैठकमा एमालेलाई गाली गरेर त समस्याको समाधान निस्कँदैन,’ भट्टराईले भने, ‘विवाद मिलाउन नै खोजेको हो भने उहाँले हाम्रो पार्टीको अध्यक्षसँग कुरा गरे भइहाल्यो नि ।’सर्वदलीय बैठकअघि भट्टराईले सभामुखसँग सिंहदरबारमा भेट गरौँ भन्दा सापकोटाले नमानेको भट्टराईले बताए । ‘सिंहदरबारमा आउनुहोस् भेटौँ भनेको हो उहाँले मान्नुभएन’, भट्टराईले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति