सत्ता गठबन्धनको बैठक: मन्त्रीको नाम दिन प्रधानमन्त्रीको ताकेता


काठमाडौं, २७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीको नाम दिन ताकेता गरेका छन् । उनले सरकार गठनको दुई महिना पुग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकिएको भन्दै गठबन्धनमा आवद्ध दलका नेताहरुलाई मन्त्रीका लागि छिटो नाम दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान गठबन्धनको बैठक बसेको थियो । ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदलाई पूर्णता दिन निकै ढिलाइ भइसक्यो, अब छिटो नाम दिनुस् भन्नुभयो,’ बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘सरकारले पूर्णता नपाउँदा सरकारका कामकारवाहीमै असर देखिन थालेको भन्ने प्रधानमन्त्रीको भनाइ थियो ।’गठबन्धनका अन्य दलका नेताहरुले भने पार्टीभित्र छलफल भइरहेको भन्दै केही दिन पर्खिन भनेका थिए ।

उनीहरुले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भएको स्वीकार गरेपनि कहिलेसम्म मन्त्रीहरुको नाम दिने भन्नेमा ठोस जवाफ नदिएको पौडेलले बताइन् । सत्ता गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा आवद्ध छन् । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल सहभागी थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति