‘भेइकल स्क्यानर’ भन्सार बिन्दुमा जडान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, २७ भदौ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज सम्बोधन गर्दै उनले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । सो प्रणाली जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारीसाधनमा लोडभएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उनले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजस्व सङ्कलन वृद्धि गर्न कर्मचारीलाई आग्रह गरेका छन्।


कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे । सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । उनले सरुवाका लागि कुनै पनि दल, नेता वा सङ्गठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिए । उनले सरुवाका लागि फोन गराई दबाब सिर्जना गर्ने कर्मचारीको माग सुनुवाइ नहुने स्पष्ट पारेका छन् । “त्यसरी फोन सोर्सफोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाइज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन त्यो आफै बुझ्नुहुन्छ”, उनले भने ।


राजस्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्‍न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिएका छन् । उनले सेवाग्राहीका गुनासालाई तत्काल सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासङघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगको संरक्षण र प्रोत्साहन गर्ने गरी नीति आएकामा सरकारलाई धन्यवाद दिएका हुन् । उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुशी व्यक्त गरे ।


उनले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न कच्चापदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा जोड दिएका छन् । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्षअनुसारको राजस्व सङ्कलन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले सदाचारलाई शिरमा तथा राष्ट्रहितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति