सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, २७ भदौ । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । एमालेको अवरोधका बाबजुद संसदलाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताइएको छ । यसअघिको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा छलफल भएको थियो ।नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको छ ।

एकीकृत समाजवादी र जसपाले अध्यादेश किनारा नलागी मन्त्रिपरिषद विस्तार गर्न नहुनेमा जोड दिएपछि प्रधानमन्त्री देउवा समस्यामा परेका छन् । सरकार बनेको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार संचालन भएको छ ।

गत शुक्रबार बसेको गठबन्धन बैठकमा देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दुई दुई मन्त्रीको भए पनि नाम दिन आग्रह गरेका छन् । तर दुबै दल अध्यादेश किनारा नलागी सरकारमा सहभागी नहुने अडानमा रहेको बुझिएको छ । दरलहरुबीच मन्त्रालयगत भागबण्डामा पनि सहमति हुन सकेको छैन । भौतिक पूर्वाधार, परराष्ट्र, सहरी विकास, संघीय मामिला, स्वास्थ्य मन्त्रालयमा दुबै दलले दावी गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति