एमसीसीको टोली र अर्थमन्त्री शर्माबीच आज भेट हुँदै : पास गर्ने/नगर्नेबारे दलहरू विभाजित

काठमाडौं, २६ भदौ । नेपाल भ्रमणमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्ने कार्यक्रम छ । टोलीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री पम्फा भुसालसँग छुट्टाछुट्टै भेट गरेको थियो।

नेपालको संसदबाट सम्झौता अनुमोदन गराउन सक्रिय कसरतमा जुटेको टोलीले अस्ति बिहीवार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि छलफल गरेको थियो ।सबै नेताहरुसँगको छलफलमा सुमारले एमसीसी कुनै सैन्य रणनीति नभएकाले यसबारेको विवादलाई थप नलम्ब्याउन आग्रह गरिन । तर सत्तारुढ गठबन्धनले नै एमसीसी सम्झौताबारे स्पष्ट धारणा दिन सकेको छैन । हिजोको भेटमा प्रधानमन्त्री देउवाले सम्झौता अनुमोदनको लागि राजनीतिकस्तरमा छलफल भइरहेको जानकारी दिएका छन् भने प्रचण्डले राष्ट्रिय सहमतिबाट मात्र एमसीसी अनुमोदन हुन सक्ने बताएका थिए ।

प्रधानमन्त्री देउवा जसरी पनि संसदबाट एमसीसी पारित गर्ने तयारीमा हुनुहुन्छ भने सत्तारूढ गठबन्धनकै माओवादी र एकीकृत समाजवादी भने एमसीसी हुबहु पारित नगर्ने पक्षमा छन् । एमालेले सरकारको धारणा आएपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ । सत्तारुढ दलहरु नै एकमत हुन नसकेका कारण एमसीसी कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन् । २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधि सभामा विचाराधीन छ । एमसीसी पास गर्ने/नगर्नेबारे दलहरू विभाजित छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति