जापानका प्रधानमन्त्री सुगा पार्टीको निर्वाचनमा मौन रहने

टोकियो, २५ भदौ । जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएको छ । नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने भएका सुगाले उत्तराधिकारी बन्‍न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन् ।


सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ ।


जापानको राज्यद्धारा सञ्‍चालित टेलिभिजनबाट प्रसारण भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुगाले आफू कुनै पनि उम्मेदवारको पक्षमा खुलेर नलाग्‍ने स्पष्ट पारेका थिए । तपाईको समर्थन कुन उम्मेदवारलाई छ भन्‍ने पत्रकारको प्रश्‍नमा उत्तर दिँदै प्रधानमन्त्री सुगाले भने,“निर्वाचनमा अहिलेसम्म १७ उम्मेदवार देखिनुभएको छ, उनीहरुमध्ये मैले कुनै उम्मेदवारको पक्ष पोषण गरेको छैन ।”


उनले पूर्व विदेश मामिला र पूर्व रक्षामन्त्री तारो कोनोले पार्टी अध्यक्षका लागि उम्मेदवार घोषणा गर्न लागेकै दिन आफू कसैको पक्षमा नउभिने स्पष्ट पारेका हुन् । उनले अघिल्लो हप्ता पार्टी अध्यक्षका लागि आफूले उम्मेदवारी नदिने घोषणा गरेका थिए । सरकारमा रहेर कोरोना भाइरसको महामारी विरुद्ध प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएपछि उनले प्रधानमन्त्रीको जिम्मेवारी समेत त्याग्‍ने गरी पार्टीको नेतृत्वका लागि उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।


उनले पार्टी नेतृत्वका लागि उम्मेदवारी नदिने भएपछि नयाँ आउने पार्टी अध्यक्षलाई नै प्रधानमन्त्री पदको जिम्मेवारी दिने भएका छन् । जापानमा प्राय सत्तारुढ दलको अध्यक्ष नै प्रधानमन्त्री हुने गरेको जनाइएको छ । प्रधानमन्त्री सुगा एकवर्ष अगाडि तत्कालीन प्रधानमन्त्री सिञ्‍जे आवेले आकस्मिक रुपमा राजीनामा दिएपछि प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । जापानमा लामो समय प्रधानमन्त्री हुनुभएका आबेको समर्थनमा प्रधानमन्त्री बनेका सुगा भने एक वर्षमै बिदा हुने भएका छन् । उनीपछि पूर्व विदेशमन्त्री तारो कोनो र पूर्व रक्षामन्त्री सिगेरु इशिबामध्ये एकजना प्रधानमन्त्री हुने अनुमान गरिएको छ । पार्टी अध्यक्षमा उनीहरुमध्ये एकजना निर्वाचन हुने सम्भावना रहेकाले प्रधानमन्त्री पनि उनीहरुमध्येकै एक जना हुने अनुमान गरिएको हो ।


सेप्टेम्बर २९ मा पार्टी अध्यक्षमा निर्वाचित भएको नेतालाई प्रधानमन्त्री चयन गर्न अक्टोबर ४ प्रतिनिधिसभामा निर्वाचन हुने सम्भावना रहेको बताइएको छ । प्रारम्भिक सर्वेक्षणले तारो कानो नै अगाडि रहेको देखाएका छन् । उनलाई सिगेरु इशिबाले पछ्याएका छन् । त्यसैगरी तेस्रोमा फुमिओ किशिदा देखिएका छन् । सत्तारुढ दलको नेतृत्व लिँदै प्रधानमन्त्री बन्‍नका लागि दुई महिला सानाइ ताकैचि र सेइको नोडा पनि चुनावी मैदानमा रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board