पर्यटन क्षेत्रका समस्या सरकारले बुझ्‍न नसकेकाे अध्यक्ष भट्टराईकाे गुनासाे

पोखरा, २५ भदौ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसायीको समस्यालाई सरकारले बुझ्‍न नसकेको बताउँछन् ।


रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)को २७औँ वार्षिक साधारणसभामा उनले कोरोना महामारीका कारण सङ्कटमा रहेको पर्यटन क्षेत्रलाई बुझेर सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउन नसकेको गुनासो गरे । उनले भने, “यतिबेला निकै कठिन अवस्थामा पर्यटन क्षेत्र छ, तर सरकारले मौद्रिक नीति र पुनरुत्थानका कार्यक्रम कार्यान्वयनमा ल्याएर राहत दिन सकेको छैन, कार्यक्रम ल्यायो भनेर हामीले स्वागत गर्न हतार गरेजस्तो भयो, नतिजा देखिएन ।”


महामारीको यो समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले हर्जाना, जरिवानासहित व्यवसायीलाई ताकेता गरेर मानसिक दबाब दिएको बताउँदै उहाँले निजी क्षेत्रको भूमिकालाई मूल्याङ्कन गरेर पर्यटनमैत्री नीति ल्याउन सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष उनले भने, “आजसम्म पनि सरकारको पर्यटनसम्बन्धी स्पष्ट नीति र योजना छैनन्, केवल व्यक्तिका सम्बन्ध र विचारबाट पर्यटन क्षेत्र चलेको छ ।” अध्यक्ष भट्टराईले पोष्ट कोभिडको अवस्थामा पर्यटन क्षेत्रलाई उठाउन सबैको साझा सोच र दृष्टिकोणको खाँचो रहेको बताए । उनले लामो समयदेखि अन्योलमा रहेको पोखराका रत्नमन्दिर र हिमागृह खुलाउन अब परिषद् निर्णायक रुपमा पहल गर्ने बताए ।


नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशिराज भण्डारीले पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय रुपमा चिनाउन रेवानले गर्दै आएको स्ट्रिट फेष्टिभलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले विश्‍वमै कोरोनाका कारण पर्यटन क्षेत्रमा ८० देखि ८५ प्रतिशत गिरावट आएको उल्लेख गर्दै अब खोपको सहजतासँगै यस क्षेत्रले गति लिँदै जाने विश्‍वास व्यक्त गरे।


पोखरा महानगरपालिका–६ का अध्यक्ष जगतबहादुर पहारीले लेकसाइडकोे सौन्दर्यकरणका लागि वडाले विभिन्‍न कार्य गरिरहेको जनाउँदै पूर्वाधार विकासका काम भएपनि अझै पर्याप्त हुन नसकेको बताएका छन् । रेवानका अध्यक्ष लक्ष्मण बरालले कोरोना कहरकोे बीचमा पाँच महिना मात्र आंशिक र आन्तरिक पर्यटकलाई सेवा दिएको पर्यटन क्षेत्र अहिले सङ्कटमा परेको उल्लेख गर्दै पर्यटन चलायमान बनाउन अब सरोकारवाला सबै पक्षबाट पहल गर्नुपर्नेमा जोड दिए ।


रेवानका उपाध्यक्ष नरेश भट्टराई र महासचिव विकास भट्टराईले पर्यटन क्षेत्रसँग आवद्ध सबैलाई खोपको सुनिश्‍चित गरेर यस क्षेत्रलाई लयमा फर्काउनुपर्नेमा जोड दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति