एमसीसीका उपाध्यक्ष फतेमा सुमार र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता : प्रधानमन्त्री देउवासँगको भेट भोलि ४ बजे

काठमाडौं, २४ भदौ ।  अमेरिकी सहयोग नियोग एमसीसीका उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको उच्चस्तरीय टोलीले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

नेपालको चारदिने भ्रमणका लागि अमेरिकी टोली आज बिहान कतार एयरवेजमार्फत काठमाडौं आइपुगको हो । उच्चस्तरीय भ्रमणको लागि काठमाडौको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । संसदमा एमसीसी पारीत गर्न तयारी र सडकमा एमसीसीको विरोध चर्किरहेका बेला अमेरिकी प्रतिनिधिमण्डल काठमाडौ आइपुगेको हो ।

भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।

नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् । काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् । नेपाल आइपुगेका उपाध्यक्ष सुमार नक्सालस्थित मेरियट होटलमा बस्ने बताइएको छ ।

कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं ओर्लिएका एमसीसी टोलीको विरोध हुने कार्यक्रम भएपछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।

उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसीसीबीच सम्झौता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board