कोहलपुर–सुर्खेत प्रसारण लाइनः १३ हजार रुख काटिने

कर्णाली, २३ भदौ । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका लागि १३ हजार ११९ रुख कटान गरिने भएको छ । रुख कटानका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजान फाइल तयार भइसकेको छ ।


आयोजना प्रमुख रविकुमार चौधरीले विभागीय मन्त्री नहुँदा काममा ढिलाइ भएको जनाउँदै मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि रुख कटानका लागि बोलपत्र आह्‍वान, जग्गाको मुआब्जा लगायत प्रक्रिया शुरु गरिने बताए । “यति ठूलो सङ्ख्यामा रुख कटान गर्न समय लाग्छ, अबको एक वर्षभित्र प्रसारण लाइन निर्माण गरिसक्नुपर्नेछ”, उनले भने, “रुख कटानमा जति ढिलाइ भयो, त्यति नै प्रसारण लाइन विस्तारमा समय लाग्छ ।” रुख कटानमा ढिलाइ हुँदा जग्गाको मुआब्जा वितरण देखि प्रसारण लाइन निर्माणको काम प्रभावित हुने चौधरी बताउँछन् ।


नेपाल विद्युत् प्राधिकरणको ३६औँ वार्षिकोत्सवका अवसरमा आयोजनाले कोहलपुरबाट प्रसारण लाइनको टावर निर्माण शुरुआत गरेको थियो । करिब रु ७० करोडका लागतमा भारतीय कम्पनी आर.एस. इन्फ्राप्रोजेक्टले प्रसारण लाइन निर्माण ठेक्का लिएको थियो । गत वर्ष असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले निर्माण अघि बढाएको छ । बाउन्‍न किमी दूरी रहेको सो प्रसारण लाइनका लागि डबल सर्किटअन्तर्गत १६१ टावर निर्माण गर्नुपर्नेछ ।


विसं २०४५ मा निर्मित ३३ केभी प्रसारण लाइनका कारण कर्णालीमा ‘अनियमित विद्युत्’ ठूलो समस्याका रुपमा छ । भोल्टेज कम हुने, सामान्य वर्षा र हावाहुरीमै खम्बा ढल्नेजस्ता समस्याले यहाँ उपभोक्ताले हैरानी खेप्‍नुपरेको छ । सो आयोजना निर्माण सम्पन्‍न भएमा सबै समस्या हट्ने देखिन्छ । आयोजना बाँकेको कोहलपुर सब–स्टेशनबाट प्रारम्भ भई सुर्खेतको वीरेन्द्रनगरस्थित सब–स्टेशनमा पुगेर टुङ्गिनेछ ।


आयोजनाका अनुसार प्रसारण लाइनका अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्‍ज तथा मध्यवर्ती क्षेत्रमा पर्छ । प्रसारण लाइनको ७० दशमलव ५४५ भाग वन क्षेत्र, १५ दशमलव १३५ खेतीयोग्य, दुई दशमलव २६५ बाँझो जमिन तथा ११ दशमलव ६५ अन्य भागले ओगटेको छ । सो आयोजनाबाट बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाका बाँसगढी नगरपालिका तथा सुर्खेतका भेरीगङ्गा, लेकबेँसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति