महँगियो तरकारी र फलफूल

बागलुङ, २३ भदौ । ढुवानी ठप्प हुँदा यहाँ तरकारी र फलफूल महँगिएको छ । पोखरा–बागलुङ सडक खण्डमा पहिराले बिहीबारदेखि यातायात सेवा अवरुद्ध भएपछि तरकारी र फलफूल ढुवानी गर्न सकिएको छैन ।


व्यापारीले मनपरी मूल्य बढाएको उपभोक्ताको गुनासो छ । व्यवसायी भने दोब्बर भाडा तिरेर ढुवानी गर्नुपरेकाले मूल्य बढाउनु परेको बताउँछन् । स्थानीय किसानबाट खरिद गरेको तरकारी यसै पनि महँगो पर्ने गरेको उनीहरुको गुनासो छ । एक साताअघि रु ६० पर्ने गोलभेँडा अहिले रु एक सय २० मा खरिद गर्नुपरिरहेको व्यवसायी नारायण सुवेदीले बताए।


“स्थानीय उत्पादन न्यून भएकाले खरिद महँगो पर्छ, अब त्यही पनि पाइन छाडेको छ”, उनले भने । यहाँ पोखरा, चितवन लगायत ठाउँबाट तरकारी ल्याइने गरिन्थ्यो । स्थानीय उत्पादनले मात्र धान्न सक्ने स्थिति छैन । तरकारी आयात ठप्प भएपछि स्थानीय किसानले उचित मुल्य नपाएको व्यवसायी बताउँछन् ।


वर्षा याम सकिनै लाग्दा बजारमा तरकारी अभाव भएको छ । त्यहीँमाथि ढुवानी नै गर्न नसकिएपछि थप समस्या निम्तिएको छ । तीजमा उपभोक्ताले चाहे अनुसारको किनमेल गर्न पाएका छैनन् । फलफूलको भाउ पनि छोइनसक्नु छ । व्यवसायी विजय आले बुटवलबाट गलकोट हुँदै फलफूल ढुवानी गर्नु परिरहेकाले दोब्बर भाडा तिर्नुपरिरहेको बताउँछन् । एक किलो स्याउ रु तीन सयमा किन्‍नु परेको स्थानीयवासी उमा कुमारी पौडेलले बताउँछन् । केही दिन अघि सम्म एक किलो स्याउको मूल्य रु एक सय पचास थियो ।


जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल वि.क. व्यवसायीले मनपरी ढङ्गले मूल्य लिन नपाउने बताएका छन् । आजै देखि बजार अनुगमन थालिएको उनको भनाइ छ । “अनुगमनका क्रममा बढी मूल्य लिएको पाइएमा व्यवसायीलाई कारबाही हुन्छ”, वि.क.ले भन्छन् । प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्‍च लगायत सरोकार भएका पक्ष मिलेर अनुगमन थालेका हुन् ।


चाडवाडमा बजारमा वस्तुको मूल्य मनपरी लिने व्यवसायीको पुरानै प्रवृत्ति हो । यसैमाथि ढुवानी रोकिएको नाममा कृतिम अभाव सिर्जना गरेर मूल्य बढाउने व्यवसायी पनि यसबेला सक्रिय छन् । सडक सम्पर्क टुट्दा तरकारी/फलफूल मात्र होइन अन्य दैनिक उपभोग्य सामानको पनि अभाव भएको छ भने इन्धनको ढुवानीसमेत रोकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति