अर्थमन्त्रीले गभर्नरलाई फोन गरेपछि शेयर बजार उच्च दरमा उकालो


काठमाडौं, २१ भदौ । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

राष्ट्र बैङ्कद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले आज गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरी तत्काल उपयुक्त निकास निकाल्न आग्रह गरे ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाइ परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच सोमबार शेयर बजार उच्च दरमा उकालो लागेको छ । एकैदिन परिसूचक १६२ अंकले बढेर शेयर बजार बन्द भएको छ । साताको पहिलो दिनमा १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको बजार दोस्रोे दिनमा भने उच्च अंकले वृद्धि भएको हो ।

सोमबार शेयर बजार १६१।९४ अंकले बढेर २९ सय ८० दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ ।बजारमा सोमबार ९ अर्ब ८२ करोडको शेयर कारोबार भयो । सोमबार मात्रै बजार ५ दशमलव ७४ प्रतिशतले बढेको छ । बजारका सबै उपसमूह हरियो रहे ।

अर्थमन्त्री शर्माले शेयर बजारमा रहेको समस्या समाधान गर्न गभर्नर अधिकारीलाई अनुरोध गरेको खबर सार्वजनिक भएपछि बजारमा ठूलो उछाल देखिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति