बङ्गलादेशी महिला फुटबल टोली आईपुगे नेपाल

काठमाडौँ, २१ भदौ । नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ ।


यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारीलगायतले स्वागत गरेका छन् । उक्त मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।


उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ ।


यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति