गण्डकी प्रदेशसभामा एकीकृत समाजवादी शून्य, इन्द्रलाल एमालेमै

काठमाडौँ, २१ भदौ ।  गण्डकी प्रदेशसभामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सांसद सहभागिता नहुने भएको छ ।एमालेमा नेपाल पक्षमा रहेका सांसद इन्द्रलाल सापकोटाले माधव नेपाललाई साथ नदिने भएपछि एकीकृत समाजवादीका कोही पनि सांसद प्रदेश सभामा नहुने भएका हुन् ।

प्रदेश सभामा एमालेका २७ सांसद रहेकोमा माधव पक्षका उनीमात्रै थिए । सापकोटा एमालेमै रहने चर्चा चले पनि पार्टी दर्ता हुँदासम्म केही बोलेका थिएनन् । कार्यदलको सहमतिअनुसार बढ्नुपर्ने तर्क गर्दै आइरहेका सापकोटा माधव नेपालले नयाँ पार्टी खोलेपछि केपी ओली नेतृत्वको एमालेमा लागेका हुन् ।

पार्टी विभाजन हुनु अघिसम्म आफू माधवकुमार नेपालको निकट रहेको प्रस्ट पार्दै उनले त्यतिबेला केही मुद्दाले आफूलाई माधवकुमार नेपाल निकट तुल्याएको बताए । ‘यसको अर्थ पार्टी विभाजन गर्दा पनि मैले माधवकुमार नेपाललाई नै साथ दिइरहनु पर्थ्यो भन्ने होइन,’ उनले भने, ‘हिजो प्रतिनिधिसभा विघटनको विरोध गरेँ, प्रदेशसभा विघटन गर्नु हुँदैन भन्ने पक्षमा जसरी उभिएँ, आज त्यसैगरी म पार्टी विभाजन ठिक होइन भन्ने पक्षमा उभिएको छु ।’

गण्डकी प्रदेशसभामा एमाले विभाजनको प्रभाव शून्य देखिएको सन्दर्भलाई व्याख्या गर्दै उनले विभाजनको पक्षमा लागेर राजनीति अघि बढ्न नसक्ने सन्देशका रुपमा यसलाई लिनुपर्ने बताए । ‘पार्टी विभाजनपछि केही महिना त केहीलाई उत्साह होला,’ उनले भने, ‘तर त्यसले नतिजा राम्रो दिँदैन ।’

केन्द्रमा केपी ओली र माधव नेपालको विवाद चलिरहँदा प्रदेशमा सांसद सापकोटा पृथ्वीसुब्बा गुरूङकै पक्षमा थिए । गठबन्धन दलका प्रस्तावित मुख्यमन्त्रीलाई शपथ नगराएको भन्दै २९ जेठमा गठबन्धनका बहुमत सदस्य प्रदेश प्रमुख निवासअघि धर्ना बसेका थिए । त्यतिबेला सापकोटासहित चार नेताले कुनै चलखेल नगरी पद छोड्न पृथ्वीसुब्बालाई सुझाएका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । त्यस्तै कांग्रेसका १५, माओवादीका १२ (सभामुखसहित), जसपा र राष्ट्रिय जनमोर्चाका दुई/दुई जना सांसद छन् । एक जना स्वतन्त्र सांसद छन् भने एक स्थान रिक्त छ । बागलुङबाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरेपछि स्थान रिक्त छ । पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा भएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति