दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल पराजीत

काठमाडौं, २० भदौ । दोस्रो मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हराएको छ ।दशरथ रंगशालामा आईतबार भएको दोस्रो मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई २–१ ले हराएको हो ।भारतको जितमा कप्तान सुनिल क्षेत्री नायक रहे । उनले एक गोल गर्नुका साथै थप एक गोलको अवसर सिर्जना गरे ।

नेपालका तेज तामाङले एक गोल फर्काए ।खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीको गोलमा भारतले अग्रता बनाएको थियो । भारतीय डिफेन्डर चिन्गलेनसाना सिंह कोन्शामको क्रसमा सुनिल क्षेत्रीले हेडमार्फत डिबक्सभित्र उपलब्ध गराएको बलमा चौधरीले गोल गरेका थिए ।खेलको ८० औं मिनेटमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाउने काम गरे । गोलका लागि हतारिएको नेपाली टिमविरुद्ध काउन्टरमा क्षेत्रीले भारतका लागि दोस्रो गोल गरेका थिए ।

खेल सकिन ५ मिनेट अघि तेजले नेपालका तर्फबाट एक गोल फर्काए । राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तराष्ट्रिय गोल गर्न सफल भए । झण्डै २० यार्ड टाढाबाट तेजको शक्तिशाली प्रहारले जाली चुमेको थियो ।साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतलाई मैत्रीपूर्ण फुटबल खेलका लागि काठमाडौंमा आतिथ्यता प्रदान गरेको थियो । भारतविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेलेर साफको अन्तिम तयारीमा जुट्ने नेपालको योजना छ । बिहिबार पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति