काठमाडौं, २० भदौ । अफगानिस्तानमा तालिबानले आफ्नो कब्जा जमाइसकेको छ । तालिबानको शासनपछि अफगानिस्तानमा महिलाको भावी स्थितिबारे चिन्ता जताइँदैछ । यो चिन्ता अफगानिस्तानका महिलाबीच मात्रै नभई अन्तरराष्ट्रिय स्तरमा पनि व्यक्त गरिएको छ ।तालिबानले वर्तमान शासन आफ्नो पूर्व शासनभन्दा नितान्त फरक हुने बताएपनि हालैको घटनाक्रमले शंका उत्पन्न गरिरहेको छ ।काबुलमा महिलाको एक प्रदर्शनमा तालिबानले हमला गरेर त्यसलाई रद्द पारिदिएको छ ।यो समूह अफगानिस्तानमा महिलाको शिक्षा र रोजगारको अधिकारका लागि प्रदर्शन गरिरहेको थियो ।प्रदर्शन गरिरहेका महिलाको यो समूहले तालिबानले आफूहरुमाथि अश्रु ग्यास प्रहार गरेको र कालो मरिचको स्प्रेले हमला गरेको जानकारी दिएको छ । यो समूह राष्ट्रपति भवनसम्म जाने कोसिस गरिरहेका बेला तालिबानले उक्त हमला गरेको हो । यद्यपि, तालिबानले भने यो प्रदर्शन अनियन्त्रित भएका कारण यस्तो गर्नुपरेको स्पष्ट पार्यो । टोलो न्यूजका अनुसार तालिबानले महिलाको विरोध प्रदर्शन नियन्त्रण बाहिर भएको बतायो ।अफगानिस्तानमा तालिबानको कब्जापछि महिलाले यसरी खुल्ला रुपमा विरोध प्रदर्शन गर्नु निकै नयाँ कुरा हो ।यी महिला कामको अधिकार र सरकारमा समावेश हुनका लागि माग गरिरहेका थिए ।
तालिबानले अबको केही दिनमा आफ्नो प्रशासनको रुपरेखा घोषणा गर्ने जानकारी दिइसकेको छ । तालिबानले महिला आफ्नो सरकारमा समावेश हुन त सक्ने तर मन्त्री पदमा हुन नसक्ने बताएको छ ।सन् १९९६ र सन् २००१ का बीच तालिबानको सत्ताका बेला महिलामाथि भएको व्यवहारका कारण उनीहरुले पुनः त्यहि प्रतिबन्ध र अत्याचारको सामना गर्नुपर्ने हो कि भनेर महिलामा डर छ ।तालिबानको पहिलो शासन ९१९९६–२००१० का बेला महिलालाई पूर्ण रुपमा ढाक्न बाध्य पारियो र सानोभन्दा सानो अपराधका लागि पनि उनीहरुलाई कठोर सजाय दिने गरिन्थ्यो ।पत्रकार अजिता नाजीमीले टोलो न्यूजलाई भनिन्, ‘पहिला तालिबानको शासन भएका बेला उनीहरुले मलाई स्कूल जानबाट रोके ।’उनी भन्छिन्, ‘उनीहरुको पाँच वर्षको शासनपछि मैले पढेँ र अत्यधिक मिहिनेत गरेँ । मैले यसो आफ्नो उज्ज्वल भविष्यका लागि गरेँ र अब म यो सबै बर्बाद हुन दिन्नँ । ’एक अन्य प्रदर्शनकारी महिला सोरयाले रोयटर्सलाई भनिन्, ‘उनीहरुले महिलाको टाउकोमा बन्दुकको म्यागजिनले हमला गरे । धेरै महिला रगतले लत्पित्तिएका थिए ।’यसैबीच काबुलको उत्तरमा पञ्जशीर घाटीमा संघर्ष जारी छ । यहाँ विरोधी लडाकू र तालिबानबीच युद्ध जारी छ ।तर दुबैले आ–आफ्नो पक्षको दाबी गरिरहेका छन् । तालिबानले प्रान्तका दुई जिल्लामा नियन्त्रण पाएको बताइएको छ ।यसका साथै उनीहरुले सातमध्ये चार जिल्लालाई आफ्नो कब्जामा लिइसकेका छन् । यस्तै अफगानिस्तानको राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) का एक प्रवक्ताले लडाईं जारी भएको र हज्जारौं तालिबानलाई घेरिइसकेको दाबी गरेका छन् । एनआरएफका नेता अहमद मसूदले हेरातमा महिलाको विरोधको प्रशंसा गरेका छन् ।
COMMENTS