काठमाडौं, १८ भदौ । एसएमजी (सर्ट मेसिन गन) चोरी अभियोगमा जेल परेका दुई सैनिकले शुक्रबार सफाइ पाएका छन् । सैनिक अदालतको कमजोरीका कारण उनीहरु अनाहकमा जेल परेका थिए । गन चोरी अभियोगमा उनीहरु निर्दोष भएपनि उनीहरुको तीन वर्ष बढुवा रोक्का गर्न सैनिक विशेष अदालतले आदेश दिएको छ। उनीहरुलाई थुनामुक्त गर्न अदालतले दिएको पत्र जिल्ला कारागार, चितवनमा पुगेको छ ।
उच्च अदालत, पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई एसएमजी चोरी प्रकरणमा निर्दोष रहेको भनेको छ । तर संगठनको आन्तरिक मर्यादा मिचेर गैरजिम्मेवारीपूर्ण कार्य गरेको अभियोगमा चाहिँ बढुवा रोक्काको आदेश दिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
गुरुङ र तामाङले अनाहकमा साढे २ वर्ष जिल्ला कारागार, चितवनमा बन्दी जीवन विताइसकेका छन् । उनीहरुले २०७६ जेठमै आफूहरु निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ हुन सकेको थिएन । चितवनमा सैनिक जवान भरत गुरुङको हत्या प्रकरण सतहमा आएपछि उनीहरु निर्दोष रहेको खुलासा भएको थियो । दुई सैनिकले चोरेको भनेको नम्बरको एसएमजी गुरुङ हत्याका आरोपी भरतपुर–२१ का गंगाधर ढकालको साथबाट बरामद भएको थियो । त्यसपछि बल्ल सैनिक विशेष अदालतले मुद्दा छिटो टुंग्याउने गरी प्रक्रिया अघि बढाएको थियो ।
COMMENTS