पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, नदीपुरमा भासियो जमिन

पोखरा, १७ भदौ। पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा १ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा स्थानीय ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षीय सुनमाया तामाङको मृत्यु भएको छ भने उनीहरूका ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन्। पहिरोले पुरिएर उनीहरूका अर्का छोरा राजकुमार घाइते भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

यस्तै, पहिरोले पुरिएर पोखरा(११ काहुँभञ्ज्याङका ४२ वर्षीय लक्ष्य नेपालीको पनि मृत्यु भएको छ। पहिरोमा परेर घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिँदा नेपालीकी छोरी सृष्टि नेपाली घाइते भएकी छिन्। उनका दुबै खुट्टा र ढाडमा चोट लागेको छ। नेपालीका श्रीमती र २ छोराको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण गए राति पोखरा-३ नदीपुरमा जमिन भासिएको छ। जमिन भासिँदा स्थानीय देउबहादुर पुन, बलबहादुर पुन र छविबहादुर पुनको घरमा क्षति भएको वडा अध्यक्ष रवीन्द्र प्रजुले जानकारी दिए। जमिन भासिँदा सडकमा समेत क्षति पुगेको छ। भासिएको ठाउँमा नगरपालिकाले पुर्ने वडा अध्यक्ष प्रजुले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति