धितोपत्र बोर्डका अध्यक्षमाथि छानबीन गर्न समिति गठन

काठमाडौँ,१६ भदौ।  सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानुन विपरीत आफन्तको नाममा सेयर खरीद गरेको विषयमा छानबीन गर्न समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गर्न समिति गठन गरेको हो । बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।

जसमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् । अध्यक्ष ढुंगानाले छोरी रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरीद गरेको आरोप छ । नेपाल स्टक एक्सचेञ्जका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समेत श्रीमतीको नाममा सर्वोत्तमको सेयर खरीद गरेका थिए । यो तथ्य बाहिर आएपछि अनुसन्धानमा सघाउन भन्दै साउदले पदबाट राजीनामा दिइसकेका छन् ।

धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उपदफा ७ अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्ने कानुनी व्यवस्था छ । जाँचबुझ समितिले सिफारिश गरेमा अध्यक्षलाई हटाउन सकिने पनि व्यवस्था रहेको छ । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board