कोरोनाका विरामीलाई प्रयोग ‘टोसिलिजुमाब’ औषधिको अभाव (यस्तो छ यसको प्रयोग)

काठमाडौँ,१६ भदौ। पछिल्लो समय कोभिड—१९ का बिरामीको उपचारको लागि प्रयोग गरिने रेम्डेसिभिरपछि अब ‘टोसिलिजुमाब’को औषधिको माग बढेको छ । बजारमा यो औषधिको सहज उपलब्धता छैन । सरकारले कोभिड बिरामीको उपचारका लागि टोसुलिजुमाब औषधि प्रयोग अनुमति दिए पनि यसको व्यवस्थापन र बजार अनुगमनमा ध्यान दिएको छैन, जसले गर्दा कालोबजारी बढ्न थालेको छ ।

मोरङका कुलप्रसाद बाँस्तोला कोभिड—१९ संक्रमणका कारण त्रिवि शिक्षण अस्पताल, कोभिड वार्डको आईसीयूमा उपचारत छन् । बाँस्तोलाको उपचारमा संलग्न चिकित्सकले उनका लागि टोसिलिजुमाब एक्टेम्रा नामक औषधि ९नसामा लगाइने इन्जेक्सन० खरिदका लागि निर्देशन दिएको दुई दिन भइसक्यो । तर, सो औषधि किन्न धेरै ठाउँ धाउँदासमेत नपाएको बिरामीका भाइ हरिप्रसाद सेढाईले गुनासो गरे ।
‘टोसिलिजुमाब औषधि भारत, युएई लगायत विभिन्न देशबाट मगाइएको भन्दै कालोबजारीमार्फत दुई लाख साढे दुई लाख रुयैयाँसम्म तिरेर बाँस्तोलासँग उपचार गराइरहेका बिरामीका आफन्तले किनेर उपचार गराउँदै छन्,’ उनले भने, ‘कालो बजारीमार्फत बिरामीका आफन्तले औषधि प्राप्ति गरिरहे पनि बजारमा हामीले पाउन सकेका छैनौँ ।’

आईसीयू तथा भेन्टिलेटरमा उपचाररत बिरामी निको हुने आशामा टोसिलिजुमाब औषधि खरिदका लागि सेढाईजस्तै सयौँ मानिस भौंतारिए पनि औषधि प्राप्त गर्न सकेका छैनन् ।

यसअघि सरकारले कोभिड बिरामीको उपचारका लागि क्लिनिकल ट्रायलमा रहेको रेम्डेसिभिर नामक औषधि र प्लाज्मा थेरापी प्रयोगमा ल्याएको थियो । ट्रायल गरिएको सो औषधि र थेरापीको प्रभावकारिताबारे कोभिड उपचारमा संलग्न चिकित्सकहरुबाट मिश्रित धारणा सार्वजनिक भएको थियो । यद्यपि विश्व स्वास्थ्य संगठनले रेम्डेसिभिर औषधि कोभिड बिरामीलाई प्रयोग नगर्न निर्देशन दिइसकेको छ ।
कोरोना संक्रमित बिरामीका लागि औषधिको निर्माण नभइसकेकाले यतिबेला टोसिलिजुमाब मनोक्लोनल एन्टिबडीतिर विश्वको ध्यान आकर्षित भएको सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुन बताउँछन् । आईसीयू, भेन्टिलेटरमा पुगेका आफन्तलाई कसरी बचाउने भनेर औषधिको खोजी भइरहँदा टोसिलिजुमाब केही प्रभावकारी भएको अध्ययनहरुले देखाएको उनले बताए । यस औषधिले कोरोनाबाट हुने मृत्युदर एक चौथाइले कम भएको पाइएको छ ।

‘टोसिलिजुमाबको प्रयोगबाट केही हदसम्म मृत्युदर कम गर्छ, प्रभावकारिताका बारेमा अध्ययन अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अहिले नै यस औषधिको फाइदा र बेफाइदाबारे भन्न सकिदैँन ।’ संक्रमणका कारण आईसीयू र भेटिन्लेटरमा उपचाररतलाई मात्रै टोसिलिजुमाब सुई लगाइने डा. पुनको भनाइ छ । संक्रमित गम्भीर खालका केही बिरामीलाई चिकित्सकले दुई डोजसम्म पनि यो औषधि दिने गरेका छन् । टोसिलिजुमाब औषधि बिरामीको तौलका आधारमा दिइने चिकित्सकहरु बताउँछन् । पछिल्लो समय कोभिड बिरामीका लागि रेम्डेसिभिर अचुक नै हो भनेर भ्रम फैलाएपछि बजारमा हाहाकार भएको चिकित्सको दावी छ । टोसिलिजुमाब औषधिको अभावसँगै महँगो भएकाले पनि कतिपय बिरामीका आफन्तले यसको प्रयोगबाट कोरोना च्वाट्टै निको हुने झैँ गरी विश्वास गरेको उनले सुनाए । ‘कोभिडका कारण शरीरका विभिन्न भागमा पु–याएको असर निको हुँदै जान्छ तर, संक्रमण भएको केही भागमा समस्या नघटेको खण्डमा टोसिलिजुमाब औषधि प्रयोग गरिने डाक्टरहरुको तर्क छ । औषधि चलाउँदैमा बिरामी १०० प्रतिशत बचाउन सकिन्छ भन्ने पनि हुँदैन ।’ यो औषधि नचलाएर मृत्यु भइहाल्छ भन्नेमा पनि सत्यता नरहेको डा. पुनले प्रस्ट पारे । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले विश्वभर टोसिलिजुमाब औषधिको माग अत्यधिक भएकाले हत्तपत्त प्राप्त गर्न नसकेको बताउँछन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सिफारिस गरेकाले यसको माग एक्कासी बढेको उनले सुनाए । ‘हामीले यसअघि एक हजार भायल टोसिलिजुमाब बिरामीलाई उपलब्ध गराइसकेका छौँ,’ उनले भने, ‘बिहीबार २०० भायल आउँदै छ ।’

औषधि प्राप्त भएपछि उपचारमा संलग्न चिकित्सकले औषधिका लागि रिफर गरेको खण्डमा बिरामीलाई उपलब्ध गराइने उनको भनाइ छ । यो औषधि महँगो भएकाले हत्तपत्त खरिद गर्न नसकिने उनले सुनाए । सरकारले टोसिलिजुमाब औषधिको मूल्य ५८ हजार ५०० तोकेको छ । तर, बजारमा महँगो मूल्यमा यसको खरिद बिक्री गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठनले कोटाको आधारमा औषधि तोकेर विभिन्न राष्ट्रमा पठाइरहेको छ । जहाँ पायो त्यहीँबाट अनाधिकृत महँगोमा औषधि खरिद नगर्न सूचना अधिकारी केसीले आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीसँग जुध्न पूर्व तयारी गर्दै आएको बताउँदै आएको छ । तर, कोभिड बिरामीलाई प्रयोग गरिने औषधिहरूको मौज्दात राख्न सरकार बारम्बार चुकेको जनस्वास्थ्य विज्ञहरुको आरोप छ । टोसिलिजुमाब औषधि खरिदका लागि यसपाली पनि तदारुकता नदेखाउँदा बिरामी भौंतारिन बाध्य भएको उनीहरुको भनाइ छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले कोरोनाभाइरस विरुद्ध लड्न पूर्वतयारी कमजोर भएको निष्कर्ष निकालेको थियो ।
यसअघि रेम्डेसिभिर औषधि विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न आग्रह गर्दागर्दै सरकार आफैले खरिद गरी केही बिरामीलाई उपलब्ध गराएको थियो भने केहीले बजारमा महँगो शुल्क तिरेर किन्न बाध्य भएका थिए । सरकारले यस्ता आवश्यक औषधिको समयमै प्रवन्ध गर्न नसक्दा सर्वसाधारणले सास्ती पाएको सरोकारवालाहरु बताउँछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board